बालेन प्रधानमन्त्री बन्ने तयारी भइरहेका बेला स्वास्थ्यमन्त्रीमा कार्कीको इच्छा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी भइरहेका बेला सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा रुचि देखाएको संकेत गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत रास्वपाकी सांसद तोसिमाले स्वास्थ्य क्षेत्रमा सुधार गर्ने चाहना रहेको बताएकी हुन् । तोसिमाले सिधै मन्त्री पद मागेकी छैनिन् । तर, उनले स्वास्थ्य क्षेत्रमा रहेका बेथितिहरूमा सुधार गर्न चाहेको बताएकी छिन् ।

तोसिमा यसअघि स्वास्थ्य राज्यमन्त्री बनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुभव लिइसकेकी छिन् । सोही कारण पनि उनलाई स्वास्थ्य मन्त्रालयमा रुचि रहन सक्छ ।

तोसिमाले लेखेकी छिन्, ‘बाल्यकालदेखि डाक्टर बन्ने सपना बोकेकी म अध्य्यनमा तल्लिन भएँ, सर्जन भएँ । पछि देशभरिका आदरणीय डाक्टरहरूको भोटमार्फत नेपाल मेडिकल काउन्सिलमा केन्द्रीय सदस्यमा दोस्रो भारी मतले निर्वाचित भएँ ।’

‘सर्जन भई धुलिखेल अस्पताल र पाटन अस्पतालमा काम गर्दा, अनि नेपाल मेडिकल काउन्सिलमा पनि रहँदा स्वास्थ्य क्षेत्रका तमाम बेथितीहरू देखेँ,’ उनले भनेकी छिन्, ‘अनि मैले पाटन अस्पतालबाट राजीनामा दिइ राजनीतिमा होमिएँ ।’

‘सांसद भई देशभरिको करिब ६० जिल्ला पुगे, अनि जिल्ला अस्पतालहरू पुगेर समस्याहरू अध्ययन गरे,’ उनले भनिन् ।

‘मैले राजनीति गर्नुको पछाडि मुख्य उद्देश्य भन्नु नै नेपालमा कुनै पनि बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउन आफ्नो घर खेत बेच्नु नपरोस्,’ तोसिमाले भनेकी छिन्, ‘खल्तीमा सुको नभएको विपन्न बिरामीले पनि पैसोको अभावले उपचार नपाएर मर्नु नपरोस् । एकदिन नेपाल यो गन्तव्यमा अवश्य पुग्नेछ ।’

Published : Sunday, 2026 March 15, 10:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया