गगनले कार्यसमिति बैठकमा राजीनामा दिने, त्यसपछि अस्वीकृत गराउने

काठमाडौं । भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर सभापति घोषणा गरी पार्टीलाई इतिहासकै लज्जास्पद अवस्थामा पुर्‍याएका गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकमा राजीनामा दिने तयारी गरेका छन् ।

स्रोतका अनुसार चैतको पहिलो साता बस्ने तयारीमा रहेको केन्द्रीय कार्यसमितिको बैठकमा थापाले सभापति पदबाट राजीनामा दिनेछन् । तर, कार्यसमितिले थापाको राजीनामा अस्वीकार गर्नेछ । थापाले आफू निकटका नेता र समर्थकहरूसँग सोही रणनीति बनाएका छन् ।

थापाले कार्यसमितिमा सबै आफ्ना नेताहरूलाई पदाधिकारी र केन्द्रीय सदस्य बनाएका छन् । कांग्रेसलाई आर्यघाटमा पुर्‍याउँदा समेत थापाविरुद्ध ती पदाधिकारी र केन्द्रीय सदस्यहरू एकशब्द बोल्ने छैनन् ।

कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा बिचाराधीन छ । सर्वोच्च अदालतले थापाको विशेष महाधिवेशनलाई अबैधानिक भनिदियो भने सबै विषय समाप्त हुनेछ । त्यसपछि थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूको बिचल्ली हुने पक्का छ ।

थापाले चुनावमा कांग्रेसलाई ३८ सिटमा पुर्‍याएका छन् । प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट कांग्रेसले जितेको छ ।

थापा समानुपातिकका २० सांसदको सूची निर्वाचन आयोगमा पठाउने तयारीमा छन् । त्यसका लागि आफ्नो गुटभित्र छलफलमा छन् । थापालाई निर्वाचनमा कांग्रेसलाई जज्जास्पद अवस्थामा पुर्‍याएको जिम्मेवारी लिन दवाव परेको छ ।

सार्वजनिक कार्यक्रम र फेसबुकमा समेत नदेखिएका थापाले आफूलाई बचाउन मिडिया ट्रायल गरिरहेका छन् । जति नै मिडिया ट्रायल गरे पनि थापाले उन्मुक्ति पाउने छैनन् ।

‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’, ‘अबकी बार गगन सरकार’, ‘अबकी बार सय पार’ जस्ता नारासहित आफूलाई भावी प्रधानमन्त्री घोषणा गरेका थापा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहसँग १२ हजार ८ सय ५७ मतको अन्तरबाट पराजित भएका छन् ।

थापा अब ५ वर्ष संसदभन्दा बाहिर रहनेछन् । कांग्रेसको इतिहासमा सभापति निर्वाचनमा पराजित भएको यो पहिलो घटना हो । तत्कालीन समयमा कृष्णप्रसाद भट्टराई कार्यबाहक सभापति रहेका बेला पराजित भएका थिए । तर, भट्टराईले कांग्रेसलाई बहुमत दिलाएका थिए ।

Published : Friday, 2026 March 13, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया