कांग्रेस नेतृ थापा एमालेलाई हराउँदै सांसदमा निर्वाचित
दैलेख । नेपाली कांग्रेसबाट दैलेखमा उम्मेदवार बनेकी बासना थापा प्रतिनिधि सभा निर्वाचनमा विजयी भएकी छिन् ।
निर्वाचन आयोगद्वारा शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार थापा विजयी भएकी हुन् ।
थापाले १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छिन् । निकटतम प्रतिस्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन् । उपप्रमुखमा पराजित भएकी थापा अहिले आएर प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएकी छिन् ।
काठमाडौंमा जन्मे–हुर्केकी बासना थापा २०५९ सालमा विवाहपछि दैलेख गएकी हुन् । अहिले उनी दैलेखको नारायण नगरपालिकाकी स्थायी बासिन्दा हुन् ।
उनका हजुरबुवा नरबहादुर थापा २०१५ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१ (हालको क्षेत्र नम्बर–९) बाट निर्वाचित भएका थिए ।
२०५७ सालमा नेविसंघमा आबद्ध भएकी उनी २०६१ मा दैलेखबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य बनिन् । त्यसपछि पार्टी संगठन, सामाजिक गतिविधि र समाजसेवामा उनको सक्रियता निरन्तर रह्यो ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पनि उनले शेखर–गगन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन् ।
राजनीतिक गतिविधिसँगै थापाले होटल व्यवसाय पनि सञ्चालन गरिरहेकी छिन् । लायन्स क्लबजस्ता सामाजिक संस्थामा आबद्ध भएर सामाजिक सेवामा पनि कांग्रेस नेतृ थापा सक्रिय छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया