माओवादी नेता एवम् निलम्बित वडाध्यक्ष बाराको मतदान केन्द्रबाट पक्राउ

वीरगञ्ज । प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ बजनी गाउँका वडाध्यक्ष ताराबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

बिहीबार कार्कीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सरकारी कागज कीर्ते गरि छाप लगाएको आरोपमा कार्कीलाई बजनी मतदान केन्द्रबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले बताए । कार्की प्रहरीको फरार सूचीमा रहेका थिए । मतदान गर्न गएको बखत उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।

तत्कालीन नेकपा (माओवादी)को तर्फबाट निलम्बित वडाध्यक्ष कार्की २०७९ को स्थानीय तहमा निर्वाचित थिए । भ्रष्टाचार मुद्दामा उनी पछिल्लो दुई वर्षदेखि निलम्बित छन् ।

नेकपा (एमाले) निकटका विद्यार्थी संगठन अनेरास्ववियूका तत्कालीन जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यसमेत भएका कार्की बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा उनका स्वकीय सचिव थिए ।

भट्टराई नयाँ शक्ति पार्टी खोलेपछि कार्की माओवादीमै रहिरहे पछि माओवादीबाट उनी वडाध्यक्ष भएका थिए ।

Published : Thursday, 2026 March 5, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया