मतदानको केही घण्टा अगाडि रास्वपालाई निर्वाचन आयोगले दियो दण्ड

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्म्देवारी खारेज गरिदिएको छ ।

मंगलबार आयोगले साहको उम्मेदवारी खारेज गरिदिएको पत्रमा उल्लेख छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि साहको उम्मेदवारी खारेज गरिएको छ ।

धनुषा १ मा नेपाली कांग्रेसबाट राम पलटन साह, एमालेबाट रामचन्द्र मण्डल र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृकाप्रसाद यादव उम्मेदवार रहेका छन् ।

बिहीबार निर्वाचन हुँदैछ । मतदानको समय आउन केही घण्टा बाँकी रहेका बेला रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि झट्का लागेको छ ।

साहविरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको उजुरीमा उल्लेख छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले साहविरुद्धको उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो । त्यसपछि आयोगले गत ११ फागुनमा उम्मेदवार साहसँग स्पष्टीकरण माग गरेको थियो ।

आयोगको १८ फागुनको निर्णयले उनको उम्मेदवारी खारेजी गर्ने निर्णय गरेको थियो । सो पत्र आयोगले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको छ ।

रास्वपाका उम्मेदवार र नेता तथा कार्यकर्ताहरूले निर्वाचन आचार संहिता उल्लंघन गरेका कुराहरू अत्याधिक रुपमा बाहिर आइरहेका छन् । आयोगले रास्वपालाई दण्ड दिएको छ ।

Published : Tuesday, 2026 March 3, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया