भदौ २४ गते सिंहदरबार, सर्वोच्च र प्रहरी कार्यालय जलाउने १३ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । भदौ २४ गते सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव तथा डाँका सम्बन्धी कसूरमा मुद्दा दायर भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले बताए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले १३ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
सर्वोच्च अदालत जलाएको अभियोगमा सुनिल श्रेष्ठ, ज्याति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर भएको छ ।
श्रेष्ठ, थापा, मगर, पराजुलीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा आगजनी गरेर एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपियाँमा बराबरको क्षति पु¥याएको अभियोग पत्रमा उल्लेख छ ।
सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशिष गुरुङविरुद्ध आपराधिक उपद्रो र डाँका सम्बन्धी कसूरमा मुद्दा दायर भएको छ ।
प्रहरी वृत्त बौद्ध जनाएको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध पनि मुद्दा चलाइएको छ । प्रहरी प्रभाग बलम्बु तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा चलाइएको छ ।
सर्वोच्च अदालतले भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको थियो ।
सर्वोच्च प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेर उनीहरूविरुद्ध मुद्दा चलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया