सप्तरीमा निर्वाचन प्रहरीले नै जलाए एमालेको झण्डा र उम्मेदवारको तस्बिर

राजविराज । सप्तरीको महादेवा गाउँपालिका वडा नं. ५, भगवतपुरमा एमालेको झण्डा र प्रतिनिधिसभा सदस्य पदका उमेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

केही व्यक्तिहरूले एमालेविरुद्ध नाराबाजी गर्दै पार्टीको चुनाव चिह्न सूर्यअंकित झण्डा जलाइरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिएको छ । एमालेको झण्डा र उम्मेदवारको तस्बिरमा आगो लगाउने व्यक्ति महादेवा गाउँपालिका वडा नं. ५ का २५ वर्षीय हरिनारायण मण्डल निर्वाचन प्रहरी (म्यादी पुलिस) रहेको बताइएको छ ।

भिडियोमा ‘जय मधेस, जय घण्टी’ भन्ने नारा समेत लगाइएको सुनिन्छ । घटनामा संलग्न रहेको आरोपमा महादेवा गाउँपालिका वडा नं. ५ का मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सप्तरी निकट स्रोतले जनाएको छ ।

पक्राउ परेका हरिनारायण मण्डल निर्वाचन सुरक्षामा खटिएका प्रहरी रहेको समेत जनाइएको छ । घटनामा संलग्न अरू व्यक्तिहरूको खोजीकार्य तीव्र पारिएको छ ।

राजनीतिक दलको झण्डा तथा उमेदवारको तस्बिर जलाउने कार्यले चुनावी आचारसंहिताविपरीत वातावरण सिर्जना गर्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका नेता, कार्यकर्ताले एमालेको झण्डामा आगो लगाएका छन् । सो घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

Published : Saturday, 2026 February 21, 3:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया