दुई समूहबीच झडप हुँदा गौरमा कार्फ्यु आदेश, सेना परिचालन, तैपनि आगजनी

गौर । कार्फ्यु रौतहट जिल्लाको गौरको भित्रीबागमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

शान्ति सुरक्षा बनाइराख्न शनिबार जिल्ला प्रशासन कार्यालय, रौटहटले कार्फ्यु लगाएको छ । नेपाली सेनासमेत परिचालन भएको छ ।

गौर नगरपालिका वडा नं. ४ मचकुटिया टोलमा एउटा स्कुटरमा आगजनी भएको छ । हालसम्म प्रदर्शनकारीहरूबाट ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी भएको छ ।

सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिएपनि भित्री भागहरूको अवस्था अझै तनावग्रस्त छ ।

गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्ररूप लिएपछि तनाव शुरु भएको हो ।

मुस्लिम समुदाय मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दु समुदायले बाजा बजाएको भन्दै विवाद शुरु भएको थियो ।

विवादले गौरको वडा नम्बर ४, ५ र ६ मा झडप समेत भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यासका सेलहरू प्रहार गरेको छ ।

झडपका क्रममा प्रदर्शनकारीहरूले केही सवारी साधनमा आगजनी गरेका छ्न् भने घरमा तोडफोड भएका छन् । झडपमा केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

थप हिंसा फैलन सक्ने देखेपछि जिल्ला प्रशासन कार्यालय, रौतहटले कफ्र्यू आदेश जारी गरेको छ । शनिबार दिउँसो १ बजेबाट कफ्र्यू आदेश लागू भएको छ ।

प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कफ्र्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताएका छन् ।

Published : Saturday, 2026 February 21, 3:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया