पोखरामा रास्वपा उम्मेदवारलाई सहकारीपीडितले दिए विद्यालयको बिल, रविलाई दिने प्रतिवद्धता
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गर्दा आफ्नो छोराको विद्यालयको बिल तिर्न नपाएको भन्दै पोखरामा सहकारीपीडितहरू रास्वपाका उम्मेदवारमाथि खनिएका छन् ।
शनिबार पोखरामा आयोजित रास्वपाका उम्मेदवारसँगको संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार बिना गुरुङलाई आफ्नो छोराको विद्यालयको बिल थमाएका छन् ।
आफ्नो बचत हिनामिना हुँदा आफूले विद्यालयको पैसा तिर्न नसकेको जैसीले बताएका छन् ।
जैसीले रास्वपा उम्मेदवार बिना गुरुङलाई विद्यालयको ८० हजार रुपियाँको बिल दिएका छन् । आफ्नो छोराले वार्षिक परीक्षा नै दिन नपाउने अवस्था रहेको जैसीले रास्वपा उम्मेदवार बिना गुरुङलाई जानकारी गराएका छन् ।
रास्वपा उम्मेदवार बिना गुरुङले पार्टी सभापति रवि लामिछानेलाई जैसीले उपलब्ध गराएका विद्यालयको बिल बुझाउने प्रतिक्रिया दिएकी छिन् । उम्मेदवार बिना गुरुङले सभापति रवि लामिछानेको बचाउमा केही बोलिनन् ।
सहकारीपीडितहरूले कठोर प्रश्नहरू गरेपछि संवाद कार्यक्रममा बिना गुरुङको प्रस्तुति निकै फितलो थियो । उनलाई प्रश्नको उत्तर सामना गर्न निकै असहज भएको देखिन्थ्यो ।
‘मभन्दा अग्रज यहाँ भएर उहाँहरुको अगाडि बोल्न सकिनँ होला । तर, यसको मतलब म केही काम गर्न सक्दिनँ भन्ने होइन,’ रास्वपा उम्मेदवार बिना गुरुङले भनिन् ।
प्रश्नको उत्तर दिने क्रममा उनी बारम्बार अक्मकाएकी थिइन् । उनीमाथि पार्टीलाई ६० लाख रुपियाँ दिएर टिकट ल्याएको विषय पनि संवादको क्रममा उठेको थियो ।
बिना गुरुङले टिकट पाएकोमा रास्वपाका नेता, कार्यकर्ता नै चकित छन् । कास्की–३ रास्वपाका जिल्ला सभापति यदुनाथ अधिकारीको निर्वाचन क्षेत्र हो । उनले टिकट पाउने चर्चा भइरहँदा बिना गुरुङ उम्मेदवार बनेपछि कास्कीमा सभापति अधिकारी पक्षधर असन्तुष्ट छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया