सामाजिक सञ्जालमा देखिएको प्रतिक्रिया र चुनावी आकलन मतदानको आधार बन्दैन : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक एकता निरन्तर सुदृढ बन्दै गइरहेको जनाएको छ ।
शनिबार गगन थापा नेतृत्वको कांग्रेस प्रेस विज्ञप्ति जारी गरेर निवर्तमान पदाधिकारी पनि निर्देशन गर्ने कार्यमा संलग्न रहेको दाबी गरेको हो ।
‘विशेष महाधिवेशनको पृष्ठभूमिलगायत कारणले पार्टीको नेतृत्व र ग्रासरुटमा कुनै अलमल, असहयोग वा गुनासोको अवस्था छ कि भन्ने प्रश्नमा हामी प्रष्ट पार्न चाहन्छौँ कि कांग्रेस निर्वाचनसँगै आन्तरिक एकताका सवालमा निरन्तर सुदृढ बन्दै गइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘सबैले निर्वाचनको महत्व र सान्दर्भिकतालाई हृदयंगम गरेको परिप्रेक्ष्यमा निवर्तमान पदाधिकारी तथा वरिष्ठ नेतागण क्षेत्र क्षेत्रमा गई सहयोग र निर्देशन दिने कार्यमा क्रियाशील हुनुहुन्छ,’ गगन थापा नेतृत्वको कांग्रेसले भनेको छ ।
यतिबेला संसारभर लोकतान्त्रिक परम्परा र मूल्यमाथि प्रहार भइरहेको अवस्था सबैलाई ज्ञात रहेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘लोकतन्त्रमाथिको संक्रमण कहीँ देखिने अनि कहीँ त्यो निवारण हुने श्रृंखला निरन्तर चलि नै रहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
छिमेकी राष्ट्रहरूमा सकारात्मक घटना देखिएको खण्डमा त्यसलाई ‘नोटिस’मा राख्ने विषय सचेत राजनीतिकर्मीका लागि महत्वपूर्ण रहेको गगन थापा नेतृत्वको कांग्रेसले जनाएको छ । यद्यपि मूल प्राथमिकता आफ्नै देश र आफ्नै कर्म हुने विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले सामाजिक सञ्जालमा देखिएको प्रतिक्रिया मतदानको आधार नबन्ने टिप्पणी गरेको छ । सामाजिक सञ्जालमा देखिएको प्रतिक्रिया र चुनावी आकलन मतदानको आधार नबन्ने र वास्तविक विश्वास मतपत्रबाट देखिने जनाइएको छ ।
यसैबीच, गगन थापा नेतृत्वको कांग्रेसले यही फागुन ६ गते जनकपुरमा विशाल आमसभा गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित सभा गर्न लागिएको जनाइएको छ ।
जनकपुरबाट चुनावी सभाको सुरुआत गरिने शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
‘फागुन ६ गते सहिद नगरी, ऐतिहासिक नगरी जनकपुरमा हामीले पार्टीको विशाल आमसभाबाट औपचारिक आमसभाको पनि सुरुआत गर्दै छौँ,’ गगन थापा नेतृत्वको कांग्रेसले भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया