प्रहरी हवल्दार हत्या प्रकरणमा ४ पक्राउ, ३ जना फरार

दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ । तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक(इन्स्पेक्टर) हेमराज भट्टका अनुसार पक्राउ पर्ने व्यक्ति राजेन्द्र डडाल हुन् । उनलाई मंगलबार साँझ पक्राउ गरिएको इन्स्पेक्टर भट्टले जानकारी दिए ।

हबल्दार घर्तीको हत्या आरोपमा यसअघि २० वर्षीया दीपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका डडाललाई हत्यापछि शव व्यवस्थापनको भूमिकामा सहयोग गरेको आरोप छ । प्रहरीका अनुसार हत्यामा संलग्नताको आरोप लागेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु र भाइ मनीष पाल फरार छन् ।

पक्राउ परेकी दीपिका पाल आशिककी कान्छी श्रीमती रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानमा बियर बारमा दीपिकालाई जिस्काएको निहुँमा आशिकले प्रहरी हबल्दार घर्तीमाथि कुटपिट गर्दा हत्या भएको खुलेको छ ।

Published : Wednesday, 2026 February 11, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया