मकवानपुरको चुनावी समीकरण विगतभन्दा भिन्न, ईन्द्र बानियाँको सक्रियतासँगै कांग्रेसका डिना र बुद्धलाई उर्जा

हेटौँडा । आगामी प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा मकवानपुरको राजनीतिक सरगर्मीले नयाँ मोड लिएको छ ।

विगतका निर्वाचनमा आन्तरिक कलह र गुटबन्दीका कारण क्षति व्यहोर्दै आएको नेपाली कांग्रेस यस पटक सुदृढ एकता र नयाँ रणनीतिका साथ मैदानमा उत्रिएको छ । विशेष गरी मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को उम्मेदवारी र उनले अघि सारेका एजेन्डाले जिल्लाभर कांग्रेसको पक्षमा नयाँ लहर सिर्जना गरेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस पटक मकवानपुरको चुनावी समीकरण विगतभन्दा भिन्न छ । क्षेत्र नम्बर १ की उम्मेदवार डिनाको सक्रियताले क्षेत्र नम्बर २ का उम्मेदवार एवं जिल्ला सभापति बुद्ध लामाको अभियानलाई समेत ऊर्जा प्रदान गरेको छ । लामाले जिल्ला नेतृत्वको हैसियतमा पार्टीभित्रका पुराना र नयाँ पुस्ताबीच समन्वय गरिरहेका छन् । डिनाले राष्ट्रिय मुद्दा र विकासका दीर्घकालीन योजनालाई मतदातामाझ पु¥याइरहेकी छिन् ।

लामो समयपछि मतदाताले आफ्नै चुनाव चिन्ह ‘रूख’मा मतदान गर्न पाउने अवस्था र पार्टीभित्रको आन्तरिक एकता मजबुत देखिनुले कांग्रेस उम्मेदवारको मनोबल उच्च बनाएको छ । ‘यस पटक हामी केवल मतका लागि मात्र होइन, नेता र कार्यकर्ताको मन जोड्न मैदानमा छौँ,’ नेतृ डिनाले भनिन्, ‘अबको योजना केवल वितरणमा होइन, रोजगारी सिर्जना र सुशासनमा केन्द्रित हुनेछ ।’

२०३९ सालदेखि विद्यार्थी राजनीतिबाट खारिएकी र २०४२ को सत्याग्रहमा सात महिना जेल जीवन बिताएकी डिनाको राजनीतिक उचाइँ राष्ट्रिय स्तरको छ । यद्यपि, प्रत्यक्ष निर्वाचनमा उनी पटक–पटक झिनो मतान्तरले पराजित हुँदै आएकी छिन् । यस पटक भने मतदातामा डिनालाई न्याय गर्नुपर्छ भन्ने एउटा भावनात्मक लहर देखिएको छ । हारजित जे भए पनि निरन्तर जनताको सुखदुःखमा साथ दिएका कारण यस पटक उनलाई संसदमा पठाउनुपर्ने धारणा सर्वसाधारणमा बलियो बन्दै गएको छ ।

विशेष गरी महिला मतदाताहरू डिनाको पक्षमा खुल्ला रूपमा उभिन थालेका छन् । महिला अधिकार र नीति निर्माण तहमा उनको दख्खललाई मकवानपुरका महिलाले आफ्नो गौरवको विषय बनाएका छन् ।

कांग्रेसले यस पटक युवा र जेन्जी अर्थात् नयाँ पुस्तालाई लक्षित गरी पढ्दै कमाउँदै र कृषि आधुनिकीकरणको ठोस योजना अघि सारेको छ । सामाजिक सञ्जालमाथिको बन्देज जस्ता अनुदार नीतिको विपक्षमा उभिने कांग्रेसको प्रतिबद्धता र गगन थापा जस्ता युवा नेतालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिनुले युवा मतदातामा आशा जगाएको छ । हेटौँडाको औद्योगिक क्षेत्रको पुनरुत्थान र रोजगारी सिर्जना गर्ने डिनाको भिजनले विदेश पलायन हुन लागेका युवाहरूलाई आकर्षित गरेको देखिन्छ ।

गत स्थानीय निर्वाचनमा मकवानपुरका बहुसंख्यक पालिकामा प्राप्त गरेको नतिजाले कांग्रेसको पक्षमा बलियो आधार तयार पारेको छ । जिल्लाको पहिलो दलको हैसियत बनाएको कांग्रेसले यस पटक संघीय निर्वाचनमा पनि क्लिन स्विप गर्ने रणनीति लिएको छ । गाँजा खेतीको वैधानिकता, बफर जोन र राष्ट्रिय निकुञ्जका कारण स्थानीयले भोग्नुपरेको कानुनी जटिलतालाई कांग्रेसले साझा चुनावी मुद्दा बनाएको छ ।

हेटौँडा १७ की स्थानीय सीता राई भन्छिन्, ‘हामीले केन्द्रमा प्रभाव राख्ने र हाम्रो समस्या बुझ्ने नेता खोजेका छौँ, त्यो क्षमता डिना दिदीमा देखिन्छ ।’

एकातिर राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने डिना उपाध्यायको अनुभव र अर्कोतिर स्थानीय सङ्गठनमा भिजेका बुद्ध लामाको सक्रियता तथा प्रदेश सभापति समेत रहेका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाको सांगठनिक पकडले कांग्रेसलाई विगतको तुलनामा निकै बलियो बनाएको छ । निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल ‘माइकल’, पूर्व सभापति रघुरमण न्यौपाने, नेता आनन्दराम पराजुली, दामोदर खनाल, अर्जुन तिवारी लगायतका जिल्ला तहका नेताको सक्रियताले चुनावी अभियानलाई थप मजबुत बनाएको छ । विगतमा कांग्रेसभित्र देखिएका आन्तरिक अविश्वासहरू यसपटक पूर्ण रुपमा हटेको देखिएको छ । विकासका अवरुद्ध प्रक्रियालाई गति दिन र मकवानपुरको आवाजलाई केन्द्रमा बुलन्द बनाउनका लागि डिनाको विजयलाई धेरैले महत्वका साथ हेरेका छन् । जिल्लाभर देखिएको कांग्रेसको सक्रियता र नेतृ डिनाको नेतृत्वदायी भूमिकाले मकवानपुरमा नयाँ राजनीतिक अध्यायको सङ्केत गरेको छ ।

आगामी निर्वाचनमा डिनासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, नेकपा (एमाले)का रामेश्वर राना, नेकपाका विजय गौतम लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।

Published : Monday, 2026 February 9, 1:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया