प्रचण्डद्वारा कांग्रेससहितका शीर्ष नेतृत्वसँग सहकार्य गर्न सम्वाद र भेट
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)सँग चुनावी सहकार्य गरेर जान सकिने बतागएका छन् ।
आइतबार एउटा अनलाइनसँगको अन्तर्वार्ताका क्रममा सोधिएको प्रश्नको जवाफमा दाहालले एमाले र नेपाली कांग्रेससँग सम्वादमा रहेको बताए । केपी ओलीसँगलिएर सहकार्य हुने कुनै ठाउँ छ त ? भन्ने जिज्ञासाको जवाफमा दाहालले भने, म तपाईंलाई एकदम स्पष्ट भन्छु–‘मेरो कुरा रास्वपासँग पनि भइरहेको छ, कांग्रेसका नेताहरूसँग पनि भइरहेको छ। हिजो शेरबहादुर देउवाजीसँग भयो, आज गगन थापासँग पनि भइरहेकै छ । केपी ओलीसँग कुरा गर्दैमा जातै जाने भन्ने त होइन । कुरा सबैसँग भइराखेको छ र हुन्छ ।’
दाहालले भने, ‘यो पटक हामीले कुनै एउटा पार्टीसँग समीकरण गरेर आफ्नो ठाउँ छाड्ने सोचेका छैनौँ । मैले अघि नै भनेँ–हामी १६४ ठाउँमा आफ्नै उम्मेदवार उठाएर अगाडि बढिसकेका छौँ ।’
‘१६५ मध्ये किन १६४ भन्नुभयो भने, बागलुङमा नेकपा (मशाल) को खुल्ला संगठन राष्ट्रिय जनमोर्चासँग हाम्रो तालमेल भएको छ। त्यहाँ एक नम्बर क्षेत्र उहाँहरूलाई दियौँ, दुई नम्बर हामीले लियौँ। योबाहेक अन्यत्र कतै तालमेल भएको छैन। सबैसँग कुरा गर्नु मेरो विशेषता नै हो, म सहज ढंगले सबैसँग संवाद गर्छु’, दाहालले भने ।
जनमोर्चालाई बागलुङमा छाडेजस्तै केपी ओलीलाई झापामा छाड्ने वा कांग्रेसलाई सर्लाहीमा सघाउने जस्तो खालको सहकार्य हुन सक्छ कि सक्दैन ? भन्ने जिज्ञासाको जवाफमा दाहालले भने, ‘यो असम्भव कुरा चाहिँ होइन, तर अहिलेसम्म त्यस्तो कुरा भएको पनि छैन। म एकदम क्लियर भन्छु–राजनीतिमा असम्भव भन्ने त हुँदैन, तर अहिले नै त्यस्तो भइसकेको छैन। केपी ओलीसँग कहिले फोनमा त कहिले प्रत्यक्ष भेटेर छलफल भइरहेकै छ ।’
शीष नेताहरुबीचमा भेट पनि भएको छ ? भन्ने जिज्ञासाको जवाफमा दाहालले भने, ‘भएको छ । तपाईंलाई किन ढाँट्ने र? शेरबहादुरजीसँग पनि भेट भएको छ, केपीजीसँग पनि भएको छ । दुवैतर्फ संवाद छ । रवि लामिछानेसँग पनि भएको छ । बालेनका बुवा बितेका बेला म उहाँको घरमै गएर कुरा गरेको छु । त्यसैले मलाई कसैसँग छलफल गर्न अप्ठ्यारो छैन । राष्ट्र अप्ठ्यारोमा भएको बेला यो परिवर्तनको मुख्य वाहक हुनुको नाताले मैले जिम्मेवारी सम्झेर धेरैसँग संवाद गरेको छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया