म एक्लैले युद्ध जित्न सक्दैन, कांग्रेसका साथीहरूको साथ चाहिन्छ, युद्धका ब्याटल ग्राउण्डहरू बदलिएका छन् : चौधरी

लमही । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् दाङ क्षेत्र नं. १ का उम्मेदवार योगेन्द्र चौधरीले कांग्रेसका नेता तथा कार्यकर्ताहरूले मिलेर निर्वाचनमा सहभागी भयौँ भने कांग्रेसका उम्मेदवारहरूलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् ।

बिहीबार देउखुरीको लामहीमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले बैठकमा चौधरीले आफू एक्लैले युद्ध जित्न नसक्ने बताए । त्यसका लागि कांग्रेसका साथीहरूको साथ र सहयोग चाहिने उनले बताए ।

सहमहामन्त्री चौधरीले भने, ‘मलाई विश्वास छ । एक्लै युद्ध कहिल्यै जित्न सकिदैन । युद्धका ब्याटल ग्राउण्डहरू बदलिएका छन् ।’

‘सामाजिक सञ्जालबाट एउटा भ्रम पैदा गरिएको छ । सामाजिक सञ्जालबाट पनि चुनौती दिन जरुरी छ,’ उनले भने, ‘केही साथीहरू त्यसमा पनि काम गर्नु हुन्छ । हाम्रा तरुण दल, थारु संघ, विद्यार्थी, महिला संघ छन् । सबै मिलेर लागौं ।’

उनले भने, ‘एउटा योगेन्द्र चौधरीसँग होइन, यो मुलुक कसको हातमा सुम्पने भन्ने कुरासँग गाँसिएको अहिलेको निर्वाचन हो । गाम्भीर्यतालाई बुझेर हामी सबै इमान्दारिताका साथ लाग्यौँ भने हामीलाई पराजय गर्ने ताकत कसैसँग छैन ।’

कांग्रेसले धेरै सुधार र परिवर्तनहरू गरेको बताउँदै चौधरीले कांग्रेसले दिएको संवैधानिक अधिकारका कारण महिलाहरूले ३३ प्रतिशत अधिकार पाएको बताए ।

‘हामी बाँच्न पाएका छौँ । बोल्न पाएका छौँ । हिँडडुल गर्न पाएका छौँ । यो स्थिति ल्याउने कुरामा नेपाली कांग्रेसले गल्ती गरेको हो ? नेपाली कांग्रेसकै नेतृत्वमा यो देशमा संविधान बन्यो । यो देशका ३३ प्रतिशत महिलाले संवैधानिक रुपमा अधिकार पाए । दलितले पाए, मधेसीले पाए, थारुले पाए । हामी सबैले पाएका छौँ । यो गर्नु गलत थियो ? यी सबै कुराहरू हामीले नेपाली समाजलाई बुझाउन सक्यौँ भने नेपाली कांग्रेसले गरेको योगदान, त्याग यो मुलुक बनाउन जति त्याग गरेको छ नेपाली कांग्रेसले कुनै दलले गरेको छैन ।’

‘इतिहाँसको कठिन घडीमा हामी उभिएका छौँ । कांग्रेस, एमाले र माओवादी पुराना दलको आचित्य समाप्त भए भन्ने जसरी पुष्टि गर्न खोजिदै छ यो मुलुकको निम्ति सबैभन्दा घातक कुरा हो,’ चौधरीले भने, ‘जसको राजनीतिक इतिहाँस छैन । समाजमा कुनै योगदान छैन ।’

‘नयाँ दलका मान्छेहरू कुन आन्दोलनमा, कुन मुभमेन्टमा गरिव, विपन्न, सुकुम्बासीको नाममा भएका आन्दोलनमा होस्, चाहे कमैयाको आन्दोलनमा होस्, या कमलरीमुक्ति आन्दोलनमा भएको आन्दोलनमा होस् वा दलितमुक्तिका लागि भएको आन्दोलनमा होस्,’ उनले भने, ‘कहाँ रहेछ नयाँ दलहरूको योगदान ? कुनै पनि योगदान नभएका र कुनै पनि इतिहाँस नभएकाहरू आज मुलुक चलाउने दाउमा, यो मुलुकलाई बर्बाद बनाउने खेलमा लागेका छन् । यसप्रति हामी सचेत हुन जरुरी छ ।’

बैठकमा नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित बासुदेव जंगलीलाई बधाई तथा शुभकामना दिइएको छ । क्षेत्रीय सभापति भेषराज पाण्डे, नेता जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरूको बैठकमा उपस्थिति रहेको थियो ।

Published : Thursday, 2026 January 29, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया