परवानीपुर हत्या प्रकरणमा अबैध सम्बन्धले प्रेमीसँग मिलेर सासु र पतिको हत्या

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाराले परवानीपुरमा दुई जनाको हत्या प्रकरणमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाराको प्रसौनी गाउँपालिका वडा नं. ७ बन्जरिया टोल बस्ने वर्ष २७ का धर्मेन्द्र महतो धानुक र बाराको परवानीपुर गाउँपालिका वडा नं. १ रहरिया डिहमा बस्ने वर्ष २३ की मनितादेवी मण्डल रहेको बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बुधबार बिहान बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ रहरिया डिहस्थित ५० वर्षीय जगरुप मण्डलको घरमा प्रवेश गरी सुतेका परिवारमाथि अन्धाधुन्ध चक्कु प्रहार दुई जनाको हत्या भएको थियो । घटनामा दुई जना गम्भीर घाइते भएका थिए ।

हत्याको मुख्य कारण मृतक ३१ वर्षीय रामईश्वर मण्डलकी श्रीमती २३ वर्षीया मनितादेवी मण्डल र बाराको प्रसौनीका २७ वर्षीय धर्मेन्द्र महतो धानुकबीचको अबैध सम्बन्ध रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

उनीहरूबीचको सम्बन्धलाई लिएर घरमा पटक–पटक विवाद हुने गरेको थियो । अबैध सम्बन्धको बाधक बनेको भन्दै परिवारका सदस्यहरूलाई नै सिध्याउने योजना बनेको प्रहरीले जनाएको छ ।

हत्याका मुख्य अभियुक्त मानिएका धर्मेन्द्र वैदेशिक रोजगारीका लागि युएईमा थिए । धर्मेन्द्र माघ ११ गते नेपाल फर्किएका थिए । धर्मेन्द्र आफ्नो घरपरिवारको सम्पर्कमा नगई मनितासँग मिलेर हत्याको योजना बुनाएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

माघ १४ गते बिहान करिब २ बजेको समयमा धर्मेन्द्र हत्या गर्ने योजनासहित रामईश्वर मण्डलको घरमा प्रवेश गरेका थिए । आक्रमणबाट ३१ वर्षीय रामईश्वर मण्डल र उनकी आमा ४६ वर्षीया सुमित्रा मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । जगरुप मण्डल र उनकी २१ वर्षीया छोरी रिनाकुमारी मण्डल गम्भीर घाइते भएका छन् ।

000

धारिलो हतियार प्रयोग गरी २ जनाको हत्यामा संलग्न अभियुक्तहरू पक्राउ

मिति २०८२ माघ १४ गते विहान अं.०२:०० बजेको समयमा जिल्ला बारा परवानीपुर गाँउपालिका वडा नं.०१ रहरिया डिहमा बस्ने अं. वर्ष ५० को जगरुप मण्डलको घरमा अपरिचित पुरुष व्यक्ति घर भित्र प्रवेश गरि ५ जनालाई चक्कु प्रहार गरेको सूचना प्राप्त हुन साथ यस जिल्ला प्रहरी कार्यालय बाराबाट प्र.उ. नरेन्द्र कुँवरको कमाण्डमा अनुसन्धान टोली खटी गई अनुसन्धान कार्य गर्दा निम्न २ जना व्यक्तिहरुको घट्नास्थलमा नै मृत्यु भएकोले घट्नास्थल, लास जाँच मुचुल्का लगायतका अनुसन्धान कार्य गरी शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा पठाईएको र घट्नामा घाईते निम्न व्यक्तिहरुको  एल. एस. न्युरो अस्पताल उपचार भईरहेको ।

मृतक-

१. १. जिल्ला बारा परवानीपुर गाँउपालिका वडा नं.०१ रहरिया डिहमा बस्ने वर्ष ३१ को राम ईश्‍वर मण्डल…………………………………………१

२. २. ऐ.ऐ. बस्ने जगरूप मण्डलको श्रीमती वर्ष ४६ की सुमित्रा मण्डल………………………………………………………………………………….१

घाईतेः-

१. जिल्ला बारा, परवानीपुर गाँउपालिका वडा नं.०१ रहरिया डिहमा बस्ने वर्ष ५० को जगरूप मण्डल…………………………………………..१

२. ऐ.ऐ.बस्ने जगरूप मण्डलको छोरी वर्ष २१ की रिना कुमारी मण्डल……………………………………………………………………………….१

प्रहरी अनुसन्धान तथा कारवाहीः-  उक्त घट्नामा संलग्न व्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान गर्दै जाँदा जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ०१ बस्ने मृतक राम ईश्‍वर मण्डलको श्रीमती वर्ष २३ की मनिता देवी मण्डल र जिल्ला बारा प्रसौनी गा.पा. वडा नं. ०७ बस्ने वर्ष २७ को धर्मेन्द्र महतो धानुक खुल्न गएकोले निजहरु मध्ये मनिता देवी मण्डललाई अस्पतालबाट उपचार पश्चात र धर्मेन्द्र महतो धानुकलाई जिल्ला बारा बिश्रामपुर गा.पा. वडा नं. ०४ मुसहर्वाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा सम्मानित बारा जिल्ला  अदालतबाट ……….दिन म्याद लिई थप अनुसन्धान भईरहेको ।

घटनाको कारण:-  प्रारम्भिक अनुसन्धानबाट विवाहेत्तर सम्बन्धको कारण उतपन्न घरायसी विवादको कारण घट्ना घटेको खुल्न आएको ।

पक्राउ परेको धर्मेन्द्र महतो धानुक बैदेशिक रोजगारीको लागि UAE देश रहेकोमा मिति २०८२ माघ ११ गते नेपाल आई घर परिवारको सम्पर्कमा न बसी मनिता देवी संग हत्याको योजना बनाई घट्ना घटाएको खुल्न आएको ।

प्रकाउ परेका व्यक्तिहरुः-

१. जिल्ला बारा प्रसौनी गा.पा. वडा नं. ०७ बन्जरिया टोल बस्ने वर्ष २७ को धर्मेन्द्र महतो धानुक………………………………………………१

२. जिल्ला बारा परवानीपुर गा.पा. वडा नं. ०१ रहरिया डिहमा बस्ने वर्ष २३ की मनिता देवी मण्डल……………………………………………१

Published : Thursday, 2026 January 29, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया