माथिको आदेशभन्दै ओलीलाई विमानस्थलमा ठूलो दुर्व्यवहार र अपमान

काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताएका छन् ।

अध्यक्ष ओलीले झापाबाट शुक्रबार काठमाडौं फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गर्ने काम गरेको बताए । शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भएको बताए ।

‘अस्ति म यताबाट झापा जाँदा मलाई अलि राम्रै व्यवहार गरेको थियो एयरपोर्टहरूमा । हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरेको छ, के गरेको छ ? हैरान पारेको छ,’ ओलीले भने, ‘अचम्मै त्यो विदेश जाँदाखेरी कहिले कहिले त्यो विदेश जाँदा पनि चिनेको ठाउँहरूमा हामीलाई त्यस्तो गर्दैन । नचिनेको ठाउँमा परियो भने देखिन्छ नेपालीहरूलाई हेपेको । हिजो एयरर्पोटमा त्यस्तै गरेर हेप्यो । किन त्यस्तो गरेको भन्दा माथिबाट आदेश आएको छ भन्छ ।’

विमानस्थलमा आफूमाथि गरिएको सो व्यवहारले आफूलाई सभ्य समाजमा नभएको जस्तो भान भएको अध्यक्ष ओलीले बताए ।

‘यो सरकार के गर्दैछ भन्दा बेथिति भइराखेको छ, अन्याय भईराखेको छ । बेठिक भईराखेको छ,’ ओलीले भने, ‘सरकार हामीलाई दुःख दिने काममा लागि राखेको छ । अपमान गर्ने काममा लागि राखेको छ ।’

अध्यक्ष ओलीले भने, ‘हामी आफनै सम्मानका लागि लडिरहेको होइन । देशको सम्मानका लागि जनताको सम्मानका लागि, जनताको इज्जतको लागि लडिराखेको छौँ । त्यसकारण त्यो धेरै ठूलो कुरा मान्दिनँ ।’

ओलीले भने, ‘सरकारको दृष्टिकोण, सरकारको मति चाँही के हो ? नेताहरूको अपमान गर्ने हो नि । त्यो सरकारले हिजै देखायो । कस्तो लाग्यो भने एउटा सभ्य समाजमा हामी छैनौँ कि जस्तो लाग्यो । एउटा जिम्मेवार सरकार होइन । अराजनीतिक, असभ्य सरकार छ । यी सबै कुराहरू हामीले फेरि सभ्य, सुसंस्कृत समाजमा ल्याउनुपर्नेछ । त्यो सबै कुरा चुनावको फैसलाबाट देखिन्छ ।’

निर्दलीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले राजनीतिक नेताहरू नेताहरूमाथि प्रतिशोध साँधेको आरोप लागिरहेका बेला ओलीले आफूलाई विमानस्थलमा अपमान भएको बताएका छन् । एमाले, नेपाली कांग्रेस जस्ता ठूला दलका नेताहरूमाथि सुशीला सरकारले निकै भेदभावपूर्ण गतिविधि गरिरहेको छ ।

Published : Saturday, 2026 January 24, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया