डोल्पामा उज्यालो पार्टीका उम्मेदवार कांग्रेसमा प्रवेश, चुनावी माहोल बढ्यो

त्रिपुरासुन्दरी । डोल्पा जिल्लामा उज्यालो नेपाल पार्टीका उम्मेदवार दिलबहादुर विष्ट नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कर्णबहादुर बुढाले विष्टलाई कांग्रेसमा स्वागत गरेका छन् । कांग्रेस नेता बुढा उज्यालो पार्टीका उम्मेदवार विष्टको निवासमै पुगेर टाउकोमा फेटा लगाइदिएर कांग्रेसमा स्वागत गरेका हुन् ।

विष्टलाई समर्थन गर्न र पुरानै घर नेपाली कांग्रेसमा फर्कन आग्रह गर्दै सह–महामन्त्री बुढा स्वयं निवासमै पुगेका थिए । कांग्रेस त्रिपुरासुन्दरी नगर कार्यसमितिले समेत विष्टको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको छ । नगरसभापति टोपबहादुर शाही लगायत नगरका नेताहरूले औपचारिक रूपमा स्वागत गरेका छन् ।

कांग्रेस प्रवेशपछि बोल्दै विष्टले आफ्नो राजनीतिक यात्रा र वैचारिक प्रतिबद्धताको मूल थलो नेपाली कांग्रेस नै भएको आत्मबोधका साथ आफू आफ्नै घर फर्किएको बताएका छन् ।

‘नेपाली कांग्रेसप्रति मेरो योगदान, लगानी र निष्ठा सतही होइन, त्यो दीर्घकालीन, गहिरो र प्रतिबद्धताले भरिएको छ,’ विष्टले भने ।

समयाभाव र प्रक्रियागत जटिलताका कारण यस निर्वाचनमा उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिन नसकिएको स्पष्ट पार्दै विष्टले हालका लागि उम्मेदवारी पेन्डिङ अवस्थामा रहने बताए ।

आगामी निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवार बुढाको विजय सुनिश्चित गर्न कुनै प्रयास बाँकी नराख्ने प्रतिबद्धता विष्टले गरेका छन् ।

कांग्रेस सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बुढाले आफू र विष्टबीच कुनै तुच्छ मनमुटाव नरहेको बताए । उनले त्रिपुरासुन्दरी नगर समितिका साथीहरूको पहललाई सम्मान गर्दै विष्ट कांग्रेसमा फर्किनु सुखद् भएको बताएका छन् ।

‘प्रक्रियागत कारणले उम्मेदवारी फिर्ता लिन नमिले पनि निस्वार्थ रूपमा पेन्डिङमा राखेर कांग्रेस फर्किनु ठूलो राजनीतिक परिपक्वता हो,’ सहमहामन्त्री बुढाले भने । मानिसलाई सम्मान र इज्जत दिन सक्नु नै सबैभन्दा ठूलो राजनीति भएकोमा बुढाले बताए ।

विष्ट आफ्नो सहपाठी मात्र नभई नाताले फुपाजु समेत भएको उल्लेख गर्दै कांग्रेस सहमहामन्त्री बुढाले पार्टीप्रति विष्टको विगतको योगदान महत्वपूर्ण रहेको र भविष्यमा पनि रहने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकाया, पार्टी सचिव हिक्मत शाही, प्रदेश निर्वाचन क्षेत्र ‘२’ सभापति केशव बुढा, नेपाली कांग्रेसका २०७९ का नगर प्रत्यासी मेयर चन्द्रलाल धराला लगायतका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

Published : Saturday, 2026 January 24, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया