लुम्बिनी कांग्रेसमा महामन्त्री खनालले पार्टी छाडे, रास्वपाबाट उम्मेदवार बन्ने

बर्दघाट । नेपाली कांग्रेस, लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनालले पार्टी छाडेका छन् ।

सोमबार कांग्रेस छाडेका खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । खनाललाई रास्वपाले नवलपरासी क्षेत्र नम्बर १ मा उम्मेदवारका लागि टिकट पनि दिएको छ ।

खनालले रास्वपामा प्रवेश गरेर टिकट लिएको बताएका छन् । उनले नवलपरासीका मतदाताहरूले आफूलाई विजयी बनाउने बताएका छन् ।

संविधान सभा सदस्यसमेत रहेका खनाल नवलपरासी नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । खनाललाई कांग्रेसका तत्कालीन महामन्त्री गगनकुमार थापाले अनुशासनको कारबाही गरेका थिए । यद्यपि, कांग्रेसले अनुशासनको कारबाही फिर्ता गरेर खनाललाई महामन्त्री पदमा यथावत राखेको थियो ।

खनाललाई कारबाही गराउन अर्बपति समेत रहेका पूर्वसांसद विनोद चौधरी, लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले ठूलो भूमिका खेलेका थिए ।

खनाल २०७० सालको संविधान सभामा कांग्रेसबाट विजयी भएका हुन् । उनलाई २०७४ सालमा निर्वाचन क्षेत्र नम्बर १‘१’ बाट पार्टीले प्रदेश सभा सदस्यमा उम्मेदवार बनाए पनि पराजित भएका थिए ।

Published : Monday, 2026 January 19, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया