निर्वाचन आयोगविरुद्ध कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले संविधानमाथिको प्रहार अन्त्य र निर्वाचन आयोगको निर्णयविरुद्ध प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौंको माइतीघर मण्डलामा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ लगायतका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले संयुक्त रुपमा खबरदारी सभा गरेका हुन् । उनीहरूले शान्तिपूर्ण रुपमा निर्वाचन आयोगको ज्यादतिविरुद्ध आक्रोश पोखेका छन् ।

प्रदर्शनकारीले ‘अबैधानिक निर्णय फिर्ता गर’, ‘निर्वाचन आयोगको असंवैधानिक कदम खारेज गर’, ‘संविधानमाथिको प्रहार सहदैनौं बारम्बार’ लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेको नेपाल तरुण दलका केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले बताए ।

प्रदर्शनमा कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेत, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र लगायतको उपस्थिति रहेको छ ।

निर्वाचन आयोगले ऐन, कानून, विधान विपरीत नेपाली कांग्रेसलाई सुनुवाईको मौका समेत नदिएर गगन थापा समूहलाई जिम्मा लगाएपछि कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।

Published : Sunday, 2026 January 18, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया