गगनलाई मोहन बस्नेतको जवाफ– प्रधानमन्त्री बन्न पहिला चुनाव जित्नुपर्‍यो, उहाँको क्षेत्रको ठेगान छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न राखेको मागप्रति व्याङ्ग्य गर्दै प्रधानमन्त्रीको आकांक्षी आफू पनि रहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता बस्नेतले प्रधानमन्त्री बन्न पहिला चुनाव जित्नुपर्ने र संसदीय दलको नेता बन्न अनिर्वाय रहेको बताए । गगन थापाको नाम उल्लेख नगरेर नेता बस्नेतले भने, ‘त्यसपछि आएर प्रधानमन्त्री घोषणा गर्नुप¥यो भन्नुभयो । प्रधानमन्त्री उधारो, जसलाई प्रधानमन्त्री घोषणा गर्‍यो उसैले हार्‍यो भने के गर्ने ?’

‘हावादारी कुरा । त्यत्रो परिवर्तनको नेताले कुरा गर्ने भएन । यो त मबाट सम्भव छैन भनिदिनुभयो । चुनाव जित्नुपर्ला नि ? प्रधानमन्त्री बन्न सांसद जित्नु पर्‍यो नि पहिला । यस्तो कुरामा अलमलिएको बिहानको वार्ता सफल भएन,’ नेता बस्नेतले भने ।

उनले भने, ‘व्यक्तिगत रुपमा मेरो धारणा फरक छ । नेपाली कांग्रेसको सिपाहीको हैसियतले त्यो विषयमा पार्टीले जे निर्णय गर्छ मेरो त्यहाँ समर्थन रहन्छ । प्रधानमन्त्री उहाँ (गगन थापा) मात्रै होइन म पनि हुन सक्छु नि । मलाई हराउन कहिल्यै नजितेको ठाउँमा मलाई पठाएर १२ हजार ९ सय मतले जितेर आएको छु । म चुनाव जितेरै आउने हो ।’

‘प्रधानमन्त्री बन्न चाहेको मान्छेको चनाव क्षेत्र कहाँ हो ? एकपटक सोधिदिनुस् न । उहाँले यो क्षेत्रबाट लड्छु भन्नु हुन्छ कि भन्नु हुँदैन,’ उनले भने ।

‘प्रधानमन्त्री बन्न चुनाव जितेर आउनुपर्छ । पार्टीको विधानअनुसार दलभित्रको बहुमत कायम हुनुपर्छ,’ नेता बस्नेतले भने, ‘दलभित्र बहुमत कायम गर्नलाई देशभरिबाट आउने सांसदको मन जित्नुपर्छ । कसैले चाह्यो भन्दैमा हुन्छ यार ? राम्रा कुरा असल कुरा गतिला कुरा अर्काको कुरा चाहियो भने अपराधी भइहाल्छ ।’

नेता बस्नेतले भने, ‘देशभरि रहेका कांग्रेसलाई एकढिक्का बनाउनको लागि तपाईहरू के चाहनु हुन्छ ? भन्दा हिजोअस्ति तपाईको सिग्नेचर दिनुप¥यो भनेका थिए । आज बिहान सभापतिजीले सिग्नेचर कसले प्रयोग गर्ने हो गरे हुन्छ भन्नुभयो ।’

‘बीचमा कहाँ कहाँ दौडिनु भयो । अहिले फेरि त्यो सिग्नेचर भए पनि हुन्छ भन्न थाल्नुभएको छ रे । उता उम्मेदवारी दर्ता गरेको कुरा बाहिर आइसकेको छ । त्यति हुँदाहुँदै अन्तिम अवस्थासम्म पार्टी नेतृत्वले पर्खेको छ,’ नेता बस्नेतले भने ।

गगन थापामा कांग्रेसको सभापति बन्ने गुण नरहेको नेता बस्नेतले बताएका छन् । बस्नेतले भने, ‘‘वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले यस्तो काँचोकचिलो मान्छे पार्टीको सभापति हुनै सक्दैन भन्नुभएको छ । सुरेन्द्र केसी डाक्टर’सावहरूले यस्ता खालका मान्छे कांग्रेसको सभापति बन्नै सक्दैन भन्नुभएको छ ।’

उनले भने, ‘नेपाली कांग्रेस जस्तो पार्टी चलाउनु पर्ने । सुशील कोइराला जस्तो परिपक्व मान्छे, गिरिजाप्रसाद कोइराला, किशुनजी, शेरबहादुर दाई वीपी कोइरालाको बिडो थाम्दै आउँदाखेरी उहाँहरूलाई त पार्टी चलाउन जे जे भन्छन् त्यही त्यही मानिदिनु पर्ने । अहिले यस्ता कुरा गरेर हिँड्ने मान्छेहरूले चलाएर पार्टी चल्छ ?’

Published : Wednesday, 2026 January 14, 2:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया