हस्ताक्षरमा मेरो तर्फबाट कुनै बाधा छैन, कांग्रेस नफुटाउनुस्, मेरो सहयोग तपाईहरूलाई छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी टुक्रिन नदिन आफू बाधक नबन्ने बताएका छन् ।

बुधबार बिहान महाराजगञ्जस्थित निवासमा सभापति देउवाले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफलमा आफू सबै सहयोग गर्न तयार रहेको बताएका हुन् । सभापति देउवाले पार्टी फुट्नबाट बच्छ भने टिकट हस्ताक्षर गर्ने जिम्मेवारी अर्को व्यक्तिलाई दिन तयार रहेको बताएका छन् ।

सभापति देउवा तथा दुई महामन्त्री थापा र शर्माबीच भएको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘पार्टी सभापतिज्यूसँग दुई जना महामन्त्रीले छलफल गरेर जानुभयो । मेरो पनि उपस्थिति थियो । सभापतिज्यूले यो पार्टी फुट्नु हुँदैन । यो पार्टीभित्र तपाईहरूको धेरै ठूलो भविष्य छ ।’

‘म यो पार्टी बचाउनको लागि हिजो पनि मैले धेरै कुरा गर्दै आएको छु । अहिले पनि म गर्न तयार छु । यो पार्टी एक हुनुपर्छ । एक हुने गरेर तपाईहरू प्रस्तुत हुनुस् । त्यसको लागि मैले के गर्नुपर्‍यो ? त्यसमा म गर्न तयार छु’, डा.महतले सभापति देउवाको भनाइ उदृत गर्दै भने ।

सभापति देउवाको भनाइ उदृत गर्दै डा.महतले भने, ‘हस्ताक्षरको कुरा पनि हुँदै आएको हो । यसका सम्बन्धमा सबैको सहमतिले केन्द्रीय समितिको बैठकले पास गरेर पार्टी सभापति शेरबहादुर देउवाज्यूको हस्ताक्षरमा टिकटहरू वितरण गर्ने भनेर निर्वाचन आयोगलाई पठाएको हो । यसमा महामन्त्रीसहित सबैको सहमति छ ।’

‘त्यसै अन्तर्गत समानुपातिकको टिकट, राष्ट्रिय सभाको टिकट पनि भयो । अब प्रत्यक्ष निर्वाचनको टिकट बाँकी छ । यदि यहि हस्ताक्षरकै कारणले सहमतिमा अफ्ठ्यारो पर्छ भने पार्टी एकताको लागि मेरो लागि हस्ताक्षर महत्वपूर्ण कुरो होइन,’ डा.महतले भने, ‘पार्टीको जोसुकै नेताहरूलाई हस्ताक्षरको जिम्मेवारी दिएर पनि पार्टी एक ठाउँमा रहन सक्छ भने त्यसको लागि पनि मेरो तर्फबाट समस्या छैन ।’

‘केन्द्रीय समितिले पारित गरेर हस्ताक्षर मेरो नाममा पठाएको हो । मेरो तर्फबाट कुनै बाधा छैन । उहाँहरूले आफ्नो विशेष अधिवेशन भनेर त्यहाँ उठाउनु भएको छ । ती विषयहरू र अन्य विषयहरूमा पनि केन्द्रीय समितिले छलफल गरेर त्यसलाई समझदारीमा टुंग्याउन सकिन्छ । त्यस कारण यो पार्टी टुक्र्याउँदा राम्रो गर्दैन । यो पार्टीलाई कसरी एक गर्ने म सम्पूर्ण सहयोग गर्नुभएको छ,’ देउवाको भनाइ उदृत गर्दै डा.महतले भने, ‘अरु धेरै कुरामा पनि पार्टी सभापतिले उदारताका साथ प्रस्तुत हुनभएको छ ।’

Published : Wednesday, 2026 January 14, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया