भौतिक निर्वाचन नै एनआरएनएको एकता र विश्वसनीयताको आधार हो : रोविन शेरचन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष तथा अध्यक्ष पदका आकांक्षी रोविन शेरचनले आगामी एनआरएनए आईसीसी निर्वाचन कुनै पनि हालतमा भौतिक रूपमा नै सम्पन्न हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् ।
विश्वभर छरिएका नेपालीहरूको साझा संस्था एनआरएनएको शक्ति एकता, पारदर्शिता र आपसी विश्वासमा आधारित रहेको उल्लेख गर्दै शेरचनले फेब्रुअरी २३ देखि २५ सम्म काठमाडौंमा आयोजना हुने बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनले संगठनको भावी दिशा तय गर्ने बताए ।
उनले विगतमा अपनाइएको अनलाइन तथा डिजिटल मतदान प्रणाली असफल भइसकेको उल्लेख गर्दै त्यसले संघलाई एकताबद्ध गर्नुभन्दा विभाजनतर्फ धकेलेको अनुभव स्मरण गराए । मतदाता पहिचान, प्रणालीको विश्वसनीयता, पारदर्शिता र नतिजाको स्वीकार्यतामाथि उठेका प्रश्नका कारण संघभित्र अविश्वास बढेको र समानान्तर संरचनासमेत देखिएको उनले बताए ।
‘अबफेरि त्यही अभ्यास दोहो¥याउनु एनआरएनएको संस्थागत भविष्यप्रति गैरजिम्मेवार कदम हुनेछ,’ शेरचनले भने ।
उनका अनुसार भौतिक निर्वाचन प्रक्रियाले पारदर्शिता बढाउने, मतदाता र उम्मेदवारबीच प्रत्यक्ष संवाद सुनिश्चित गर्ने, आर्थिक गतिविधि चलायमान बनाउने र सबैभन्दा महत्वपूर्ण, विश्वभर छरिएका नेपालीहरूबीच भावनात्मक एकता तथा आपसी विश्वास मजबुत बनाउने काम गर्छ ।
एनआरएनए केवल एउटा संस्था नभई सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा भावना र पहिचान भएको उल्लेख गर्दै शेरचनले नेतृत्व चयन प्रक्रिया सबैले गर्वका साथ स्वीकार गर्न सक्ने हुनु पर्ने बताए ।
यसै सन्दर्भमा उनले विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई “एक पटक नेपाल जाऔं” भन्ने भावनात्मक आह्वान गर्दै यो महाधिवेशन पद र जिम्मेवारीभन्दा पनि एनआरएनएको गरिमा, एकता र विश्वसनीयता पुनःस्थापित गर्ने ऐतिहासिक अवसर भएको बताए ।
शेरचनले सबैलाई सचेत भई खुला रूपमा विचार राख्न, नियमको कडाइका साथ पालना गर्न र विगतका कमजोरी दोहोरिन नदिन साझा जिम्मेवारी वहन गर्न आग्रह पनि गरेका छन् ।
‘एकताबद्ध, सर्वस्वीकार्य र विश्वासयोग्य निर्णयमा पुग्नु नै यस महाधिवेशनको मूल उद्देश्य हुनुपर्छ,’ उनले भने ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया