कांग्रेसका विदेशस्थित जनसम्पर्क समितिहरूले एकसाथ भने– विशेष महाधिवेशनको औचित्य छैन

काठमाडौं । नेपाली कांग्रेस निकटका अधिकांश जनसम्पर्क समितिहरूले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन् ।

शनिबार १७ देशका जनसम्पर्क समितिका सभापतिहरूले संयुक्त अपील जारी गरेर विधानअनुसार १५औं नियमित महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला त्यसैलाई निरन्तरता दिनुपर्ने बताएका हुन् । उनीहरूले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको र फागुन २१ गते निर्वाचन हुन लागेको हुँदा विशेष महाधिवेशनको औचित्य नरहेको बताएका छन् ।

‘कांग्रेसको आन्तरिक जीवनमा हामी अहिले अप्ठ्यारो परिस्थितिमा छौं । मुलुकमा फागुन २१ गते निर्वाचन घोषणा भैसकेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो बेला तपाईं हाम्रो आन्तरिक बेमेललाई थाँति राखेर मुलुक र पार्टी बलियो बनाउने दिशामा हामी अग्रसर हुनुपर्छ ।’

यो अझ बढी संगठित, एकताबद्ध र आपसी भाइचारा तथा हार्दिकता बढाएर अघि बढ्नुपर्ने समय भएकाले यस मर्मलाई बुझ्न उनीहरूले पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

‘आम निर्वाचनको प्रक्रिया शुरु भैसकेको वर्तमान अवस्थामा एकढीक्का भएर हामी चुनावी संग्राममा होमिनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी अहिले १५औं महाधिवेशनको प्रक्रियामा जुटेका छौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनले पार्टीलाई नयाँ जीवन र ऊर्जा प्रदान गर्नेछ । यसका लागि हालै मात्र नेपाली जनसम्पर्क समितिका कतिपय देशबाट नयाँ महाधिवेशन प्रतिनिधिहरू समेत चयन भैसक्नु भएको छ ।’

पार्टीको पौष १८ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको सम्मान गर्दै अघि बढ्ने प्रतिवद्धतासमेत जनसम्पर्क समितिहरूले जनाएका छन् ।

‘नेपाली जनसम्पर्क समितिका सबै देशका सदस्य र प्रतिनिधि साथीहरू एकबद्ध भई पार्टी एकतालाई अक्षुण राख्दै आम निर्वाचनमा जुट्ने र आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने नियमित महाधिवेशनलाई सफल बनाउन सक्रियतापूर्वक लागिपर्ने विश्वाससहित पुनः एकपटक पार्टी हितका पक्षमा दृढतापूर्वक उभिन हार्दिक अपील गर्दछौं,’ उनीहरूले भनेका छन् ।

नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई संयमित भएर जिम्मेवारपूर्वक आफ्नो भूमिका निर्वाह गर्न र एक अर्काबीचको सम्मान भावलाई स्वीकार गरी अघि बढ्नसमेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा बालकृष्ण पाण्डे (भारत), आनन्द विष्ट (अमेरिका), युवराज गुरुङ (बेलायत), रोशन केसी (जापान), सुरेश गुरुङ (अस्ट्रेलिया), चोलाकान्त पंगेनी (मलेसीया) रहेका छन् ।

भुवानीप्रसाद तिमिल्सिना (दुबई), अर्जुन थापा (साउदी अरब), शेरबहादुर रावत (बहराइन), सुभाष गुरुङ (बेल्जिएम), शालिक गौतम (नेदरल्याण्ड), शिखर खड्का (जर्मनी), यादव बस्नेत (डेनमार्क), नवीन थपलिया (स्वीडेन), दीपिका भुसाल (इजरायल), बुद्धिप्रकाश ओली (क्यानडा), बुद्धिसागर घिमिरे ( न्यूजल्याण्ड)ले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नियमित महाधिवेशन र निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् । उनीहरू अहिलेको अवस्थामा विशेष महाधिवेशनको नाममा बोलाइएको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अबैधानिक भेलाले कांग्रेसलाई विभाजन गर्ने भनेका छन् ।

Published : Saturday, 2026 January 10, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया