प्रहरी खरानीबाट उठेर नागरिकको सुरक्षा सुनिश्चित गर्न सडकमा छौँ : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताएका छन् ।

शनिबार काठमाडौं उपत्यका ट्राफिक कार्यालय, रामशाहपथद्वारा आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै आइजीपी कार्कीले गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय तथा भवनमा आगजनी गरिएको, ट्राफिक प्रहरीका संरचना र उपकरणहरूमा ठूलो क्षति पुगेको बताए ।

उनले भने, ‘आन्दोलनका क्रममा प्रहरीका विभिन्न कार्यालयमा ठूलो क्षति भयो । त्यस कठिन घडीमा पनि प्रहरीका खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा समेत नागरिकको सुरक्षाका लागि सडकमा उभिइरह्यो ।’

‘हामी अहिले खरानीबाट उठेर पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न सडकमा छौँ,’ आईजीपी कार्कीले भने ।

आईजीपी कार्कीले ट्राफिक सप्ताह, २०८२ लाई केवल औपचारिक कार्यक्रमका रूपमा नभइ, नागरिक चेतना अभिवृद्धिको अभियानका रूपमा लिन आग्रह गरे । उनले नेपालका सवारी चालकदेखि पैदल यात्रुसम्म सबैले सभ्य, शिष्ट र जिम्मेवार नागरिकको व्यवहार देखाउँदै ट्राफिक नियमको पूर्ण पालना गर्ने बताएका छन् ।

उनले भने, ‘ट्राफिक प्रहरीले हात हल्लाएर सडकमा ड्युटी गर्नुपर्ने अवस्था अन्त्य होस् । सभ्य नागरिक बनौँ, ट्राफिक नियम पालना गरौँ । यही नै ट्राफिक सप्ताह, २०८२ को मूल उद्देश्य हो ।’

Published : Saturday, 2026 January 10, 3:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया