कांग्रेसका १२ जिल्ला सभापतिहरू गगन–विश्वको अबैधानिक विशेष महाधिवेशनको विपक्षमा

काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधान विपरीत अबैधानिक रुपले विशेष महाधिवेशन बोलाएर पार्टी विभाजनको गतिविधि गरेपछि नेपाली कांग्रेसका १२ जिल्ला सभापतिहरूले अहिले विशेष महाधिवेशनको वातावरण नबनेको बताएका छन् ।

शनिबार सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला निकटका जिल्ला सभापतिहरूले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर पार्टी फुटबाट जोगाउन आग्रह गरेका छन् । १५औं नियमित महाधिवेशन २०८३ वैशाख मसान्तसम्मको कार्यतालिका पुस १८ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट निर्णय भई नियमित अधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा र विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘विशेष महाधिवेशनको उपर्युक्त वातावरण समेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अझै पार्टी एकताको प्रयास गरी वार्ता र संवाद मार्फत पार्टी विभाजनबाट बचाउन केन्द्रित हुनु आवश्यक छ ।’

कांग्रेस अन्य भेला, समारोहमा नअलमलिई संविधानको संरक्षण र मुलुकका राजनीतिक निकासको लागि थप जिम्मेवार भई फागुन २१ को निर्वाचनमा सकृयरुपमा केन्द्रित हुनुपर्ने जिल्ला सभपातिहरूले बताएका छन् ।

महामन्त्रीद्वय थापा र शर्माको अबैधानिक विशेष महाधिवेशनको विपक्षमा संयुक्त वक्तव्य जारी गर्ने जिल्ला सभापतिहरूमा रामनाथ अधिकारी (धादिङ), डिगबहादुर लिम्बु (मोरङ), वर्मा लामा (दोलखा), रमेशकुमार महत (नुवाकोट), विष्णुकरमा राई (खोटाङ), राजेश्वर खनाल (चितवन) रहेका छन् ।

अम्बबहादुर शाही (कालीकोट), रामकृष्ण खाण (रुपन्देही), मणिराम रेग्मी (दैलेख), रुपनारायण जबेगु (पाँचथर), रामसिंह रावल (बाजुरा) र कार्यवाहक सभापति विक्रमप्रसाद यादव (नवलपरासी)ले विशेष महाधिवेशन आवश्यक नरहेको जनाएका छन् ।

Published : Saturday, 2026 January 10, 3:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया