दाहालको निधनप्रति शोक मनाउन कांग्रेसद्वारा विभिन्न कार्यक्रमहरू सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

शनिबार पार्टी कार्यालय, सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

८४ वर्षीय दाहालको पौष २५ गते शुक्रबारका दिन काठमाडौंमा निधन भएको कांग्रेसले जनाएको छ । उनको निधनप्रति केन्द्रीय कार्यसमितिको बैठक गहिरो दुःख व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्व.दाहाल नेपाल पत्रकार महासंघको पूर्व सभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक एवं प्रकाशक र गोरखापत्र संस्थानका पूर्व अध्यक्ष हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेल जीवन बिताएका स्व.दाहाल वि.सं. २०५६ को आम निर्वाचनमा ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । दाहालले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।

कांग्रेसले भनेको छ, ‘स्व.दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।’

‘उहाँको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ । नेता दाहालको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ कांग्रेसले भनेको छ ।

कांग्रेसले प्रेस विज्ञप्ति जारी गरेर दाहालको निधनप्रति शोक मनाउन विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको जनाएको छ । कांग्रेसले २०८२ पौष २६, २७ र २८ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

२०८२ पौष २७ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने, स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्ला ओखलढुङ्गामा शोक सभाको आयोजना गर्ने निर्णय कांग्रेसले गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Published : Saturday, 2026 January 10, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया