मधेसका ८ जिल्ला सभापतिहरू गगन–विश्वको कांग्रेस फुटाउने अबैधानिक कार्यको विपक्षमा

जनकपुर । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नाममा अबैध भेला बोलाए पार्टी विभाजनको तयारी गरेका बेला नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गत ८ जिल्लाका जिल्ला सभापतिहरूले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यलाई आग्रह गरेका छन् ।

शुक्रबार मधेस प्रदेशका आठ वटा जिल्लाका सभापतिहरूद्वारा आ–आफ्नो जिल्लाको लेटरप्याडमा विज्ञप्ति जारी गरेर पार्टी विधानअनुसार महाधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहीत रहेको बताएका छन् । उनीहरूले विशेष महाधिवेशनमा सहभागी नहुन सबैलाई आग्रह गरेका छन् ।

कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा महाधिवेशन वा विशेष महाधिवेशनको नाममा कार्यक्रम वा गतिविधि सञ्चालन गर्नु विधानविपरीत हुने उनीहरूले बताएका छन् ।

विज्ञप्तिमा जिल्ला, प्रतिनिधिसभा क्षेत्र, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई पार्टीको निर्णय, नीति र अनुशासन पालना गर्न आह्वान गरिएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका आधिकारिक उमेदवारलाई विजयी गराउन एकताबद्ध र सशक्त रूपमा अभियानमा जुट्न सबै नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरिएको छ ।

जिल्ला सभापतिहरूमा महोत्तरीका नागेश्वरप्रसाद यादव, सप्तरीका रामदेव शाह, सर्लाहीका डा. सरोजकुमार यादव, बाराका राजेशराय यादव, सिरहाका रामचन्द्र यादव, रौतहटका सुनिलकुमार यादव, पर्साका जनार्दन सिंह क्षेत्री र धनुषाका योगेन्द्र पञ्जियारले हस्ताक्षर गरेका छन् ।

पार्टीको हित, प्रतिष्ठा र सङ्गठन सुदृढीकरणका लागि अनुशासन, एकता र समन्वय अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Published : Friday, 2026 January 9, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया