कांग्रेस निकटका पेशागत तथा शुभेच्छुक संस्थाका अध्यक्षहरूद्वारा सभापति देउवासहितका शीर्ष नेताहरूसँग भेट
काठमाडौं । नेपाली कांग्रेस निकटका शुभेच्छुक र पेशागत संघ/संस्थाहरूका प्रमुखहरूले सभापति शेरबहादुर देउवासहितका शीर्ष नेतृत्वसँग भेट गरेर विभिन्न माग राखेका छन् ।
उनीहरूले सभापति देउवासँगै कार्यबाहक सभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोइराला लगायतसँग भेट गरेर आफ्ना माग राखेको प्रजातन्त्रवादी प्रध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनाले बताएका छन् । तिमिल्सिना राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसले अन्यमा टिकट दिएर उम्मेदवार बनाएको छ ।
‘व्यवहारमा पार्टीको महाधिवेशन, केन्द्रीय संरचना तथा निर्णायक निकायहरूमा पेशागत संघ–संस्थाको प्रतिनिधित्व अपेक्षित रूपमा संस्थागत हुन नसकेको अनुभूति व्यापक छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसले लोकतन्त्रप्रति आस्थावान, पार्टीका दीर्घकालीन समर्थक तथा वैचारिक आधार बनेका पेशागत वर्गमा निराशा र असन्तुष्टि पैदा गरिरहेको यथार्थप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
‘संविधानको मर्मअनुसार बौद्धिक वर्गको प्रतिनिधित्व सुनिश्चित गरियोस् । संविधानले राष्ट्रिय सभालाई बौद्धिक तथा अनुभवी वर्गको प्रतिनिधित्व गर्ने थलोका रूपमा परिकल्पना गरे तापनि व्यवहारमा सो मर्म पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसले लोकतन्त्रप्रति आस्थावान पेशागत संघ/संस्थाबाट राष्ट्रिय सभासहित राज्यका विभिन्न निकायमा प्रतिनिधित्व हुने स्पष्ट र विश्वसनीय सुनिश्चितता प्रदान गरोस् ।’
ज्ञापनपत्रमा भनिएको छ, ‘पार्टी संरचनामा पेशागत संघ/संस्थाको संस्थागत प्रतिनिधित्व सुनिश्चित गरियोस् । नेपाली कांग्रेसको महाधिवेशन, नीति निर्माण प्रक्रिया तथा संगठनात्मक संरचनामा पेशागत संघ/संस्थाको पूर्ण, सम्मानजनक र अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरियोस् । यसका लागि पेशागत संघ/संस्थाका प्रतिनिधिहरूलाई मतदातामा मात्र सीमित नगरी उम्मेदवार बन्ने अधिकारसमेत खुला गरियोस् । कम्तीमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कुल सदस्य संख्याको १० प्रतिशत प्रतिनिधित्व पेशागत संघ/संस्थाबाट अनिवार्य रूपमा सुनिश्चित गरियोस् ।’

‘प्रतिनिधि सभा निर्वाचनमा पेशागत पृष्ठभूमिका उम्मेदवारहरूलाई प्राथमिकता दिइयोस् । प्रतिनिधि सभाको निर्वाचनमा पेशागत संघ/संस्थासँग आवद्ध, सक्षम, योग्य र अनुभवी व्यक्तिहरूलाई देशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा अधि सार्ने स्पष्ट नीति अवलम्बन गरियोस्,’ पेशागत तथा शुभेच्छुक संघ/संस्थाका प्रमुखहरूले भनेका छन् ।
‘पेशागत संघ/संस्थालाई पार्टीको वैचारिक थिंक–ट्याङ्कका रूपमा संस्थागत गरियोस् । हामी दृढ़ विश्वास गर्दछौं कि नेपाली कांग्रेसले आपनो गौरवशाली लोकतान्त्रिक विरासत, समावेशी सोंच र ऐतिहासिक जिम्मेवारीअनुसार यस विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नेछ,’ उनीहरूले ज्ञापनपत्रमा भनेका छन्, ‘पेशागत संघ/संस्थासँगको सशक्त र सम्मानजनक सहकार्यले पार्टीलाई अझ बलियो, आधुनिक र जनउत्तरदायी बनाउनेछ भन्ने हाम्रो दृढ़ विश्वास छ ।’
ज्ञापनपत्र बुझाउनेहरूमा डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष सीताराम केसी, प्रजातन्त्रवादी प्रध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, प्रजातन्त्रवादी चिकित्सक संघका कार्यबाहक अध्यक्ष डा.बिक्रान्त ढकाल, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई.रविभुषण झा रहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया