कांग्रेसका जिल्ला सभापतिहरूद्वारा गगन–विश्वको पार्टी विभाजन गर्ने अबैधानिक विशेष महाधिवेशनको विरोध

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विशेष महाधिवेशनको नाममा हुन लागेको भेलाका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बिहीबार बझाङ, डोटी, डडेल्धुरा, अछाम, कञ्चनपुर र कैलालीका जिल्ला सभापतिहरूले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर निर्वाचन र १५औं महाधिवेशनमा केन्द्रित हुन आह्वान गरेका हुन् । उनीहरूले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विधान विपरीत विशेष महाधिवेशनको नाममा अबैधानिक भेला बोलाएको भन्दै त्यस्ता गतिविधि नगर्न सचेत गराएका छन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयबाट कार्यतालिका तयार गरी महाधिवेशनको प्रक्रिया र कार्यक्रमहरू जिल्लामा सञ्चालन भैरहेको अवस्थामा सोहि अवधि भित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थतालाई वेवास्ता गरि विभिन्न सञ्चार माध्यम मार्फत पार्टीको विशेष महाधिवेशन आवहान गरिएको भने विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ जिल्ला सभापतिहरूले भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रुपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ ।’

‘पदाधिकारी वा सदस्यले व्यक्तिगत रुपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरित हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई हार्दिक अपील गर्दछौं,’ विज्ञप्तिमा सभापतिहरूले भनेका छन् ।

‘२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा एकताबद्ध भएर लाग्न पार्टीका सबै तहका पदाधिकारी सदस्य तथा शुभेच्छुकहरूलाई हार्दिक आवहान गर्दछौं,’ जिल्ला सभापतिहरूले भनेका छन् ।
संयुक्त वक्तव्यमा भनिएको छ, ‘महाधिवेशन तयारीका क्रममा अनिवार्य पूरा गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरण तथा नयाँ कियाशील सदस्यको वितरण र प्रबिष्टिको कार्य वडा कार्यसमिति हुँदै, पालिका कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति मार्फत आएका नवीकरण र नयाँ क्रियाशिल सदस्यताको कार्य प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले अगाडि बढाइरहेको र केन्द्रीय महाधिवेशन सम्पन्न गर्नका लागि वडा अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्नु पर्ने र क्रियाशील सदस्यता नै वडा अधिवेशनका मतदाता हुने तथ्य समेत यहाँलाई अवगत नै छ ।’

संयुक्त वक्तव्य जारी गर्ने जिल्ला सभापतिहरूमा खड्बहादुर बोहरा (बझाङ), नरेन्द्रबहादुर सिंह (डोटी), भीम साउँद (डडेल्धुरा), पुष्पबहादुर शाह (अछाम), पदम बोगटी (कञ्चनपुर) र नारायणदत्त भट्ट (कैलाली) रहेका छन् ।

Published : Thursday, 2026 January 8, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया