पार्टी विभाजन गर्ने गगन–विश्वको हर्कतविरुद्ध कांग्रेसले दियो पहिलो प्रतिक्रिया
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरेर भने, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्वसम्मत् निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन/महाधिवेशनको प्रकृया र कार्यक्रमहरू संचालन भैरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई वेवास्ता गरी विभिन्न संचार माध्यम मार्फत् पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘यस सन्दर्भमा स्पष्ट पारिन्छ कि पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ,’ प्रेस विज्ञप्तिमा कांग्रेसले भनेको छ ।
‘पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ,’ कांग्रेसले भनेको छ ।
कांग्रेसले भनेको छ, ‘मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले समानुपातिक तर्फ निर्वाचन आयोगमा उम्मेदवार प्रस्तुत गरिसकेको र राष्ट्रिय सभा सदस्यको मनोनयन पत्र समेत आजै दर्ता भइसकेको सन्दर्भमा, यस महत्वपूर्ण जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै पार्टीको प्रतिष्ठा र हितलाई ध्यानमा राखी पार्टीका केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समिति तथा सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकहरूलाई पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने अभियानमा अझ सशक्त रूपमा क्रियाशील भई लागि पर्न नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ ।’
‘मिति २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत् निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रकृया अघि बढी सकेको सबैलाई अवगत नै छ,’ कांग्रेसले भनेको छ ।
‘यसरी नियमित १५औं महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रकृया अघि बढिसकेको सन्दर्भमा विधान बमोजिम समयमै नियमित १५ औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको २०८२ पौष १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्पष्ट गरिसकेको छ,’ कांग्रेसले भनेको छ ।
‘महाधिवेशनको तयारीका क्रममा अनिवार्य रूपमा पूरा गर्नुपर्ने पहिलो चरणका प्रक्रियामध्ये क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण प्रमुख कार्य हो,’ कांग्रेसले भनेको छ, ‘केन्द्रीय महाधिवेशन सम्पन्न गर्नका लागि सर्वप्रथम वडा अधिवेशन गर्नुपर्ने व्यवस्था रहेको र क्रियाशील सदस्य नै वडा अधिवेशनका प्रथम मतदाता हुने तथ्यसमेत यहाँ अवगत गराइन्छ ।’
‘एकातर्फ नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरण सम्बन्धी कार्य सम्पन्न गरी निर्धारित कार्यतालिका अनुसार क्रियाशील सदस्यताको सूची समयमै केन्द्रीय कार्यसमितिमा पेश गर्नु पर्नेमा हालसम्म पेश नभएको अवस्था छ,’ कांग्रेसले भनेको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतर्फ, मिति २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची सहित निर्वाचन आयोगमा मनोनयन दर्ता भइसकेको छ ।’
‘विदेशस्थित कतिपय नेपाली जनसम्पर्क समितिहरूले आफ्नो अधिवेशन सम्पन्न गरी पार्टीको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन गरिसकेका छन् भने नेपालभित्र क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणको प्रक्रिया निरन्तर रूपमा जारी रहेको छ,’ कांग्रेसले भनेको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विधान विपरीत गएर विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विभाजनको गतिविधि गरेपछि कांग्रेसले पहिलो पटक आपत्ति जनाएको छ । त्यस्ता अबैधानिक कार्य र गतिविधिहरूमा सहभागी नहुन कांग्रेसले आफ्नो नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया