स्वार्थमा कांग्रेस फुटाउन निकै नजिक पुगेका गगनलाई ससुराको साथ

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको खटपटमा महामन्त्री गगनकुमार थापा र उनका ससुरा अर्जुन नरसिंह केसी एकठाउँमा उभिएका छन् ।

शुक्रबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले असहमति राखेका थिए । थापाको असहमतिमा केन्द्रीय सदस्य केसी पनि साथ दिएका छन् ।

महामन्त्री थापाले नै कांग्रेसको समानुपातिक बन्द सूचीमा राख्न आफ्नो ७८ वर्षीय ससुरा केसीलाई पहिलो नम्बरमा राखेर सिफारिस गरेका थिए । आलोचना भएपछि थापाले ससुरालाई समानुपातिक सूचीमा आफूले नराखेको भनेर कार्यकर्ताहरूलाई सिधै झुठ बोलेका थिए ।

केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औं महाधिवेशनको तालिकालाई पारित गरेपछि थापा र उनका ससुरासहितका केही नेताहरूले असहमति राखेका थिए ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त सूचना जारी गरेर एकतर्फ रुपमा पुस २६ देखि २८ गतेसम्म हुने भनिएको केन्द्रीय १५औं महाधिवेशनलाई स्थगित गरेका थिए ।

त्यसको अर्को दिन बसेको कार्यसम्पादन समितिले पुस २६–२८ गतेसम्मको महाधिवेशन तालिका परिवर्तन गरी २०८३ वैशाख २८ देखि ३१ गते गर्ने कार्यतालिका पारित गरेको छ ।

कार्यसम्पादन समितिको निर्णयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्माका साथै सहमहामन्त्री फर्मुल्ला मन्सुर, अर्जुन नरसिंह केसी र उमा रेग्मी रहेका छन् ।

Published : Friday, 2026 January 2, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया