कांग्रेसको केन्द्रदेखि वडासम्म जेठ मसान्तसम्म म्याद थप, वैशाख २८–३१ मा महाधिवेशन
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिदेखि वडासम्मको कार्य अवधि जेठ मसान्तसम्म थप गर्दै १५औं महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले केन्द्रदेखि वडासम्म जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए । केन्द्रदेखि वडासम्मको म्याद (कार्य अवधि) थप गर्ने निर्णयमा महामन्त्री गगन थापासहित केही नेताहरूले फरकमत राखेको डा.महतले बताए ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा.महतले भने, ‘नेपाली कांग्रेसको कार्य अवधि माघ मसान्तसम्म थपिएको थियो । त्यसको सट्टा अब जेठ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थपिएको छ । तल्लो तहको म्याद पनि विधानको व्यवस्थाअनुसार थपिएको छ ।’
‘म्याद थप्नुपर्ने मूल कारण मंसिर १५ गते कार्यसमितिको बैठकले कार्यतालिका पास गरेको थियो । पुसमा १५औं महाधिवेशन सम्पन्न गर्ने गरेर कार्यतालिका पास गरिएको थियो । त्यो कार्यतालिकाअनुसार काम गर्न सम्भव भएन’, उनले भने ।
‘त्यसै पनि त्यो कार्यतालिका अत्यन्त टाइट थियो । कार्यतालिका अनुसार सर्वप्रथम क्रियाशील सदस्यता टुंग्याउनु आवश्यक हुन्छ । त्यो नै प्राम्भीक नेपाली कांग्रेसको निर्वाचनको प्रारम्भीक मतदाता उनीहरू नै हुन्छन्,’ उनले भने, ‘ती मतदाताहरूको टुंगो नलागिकन वडाको अधिवेशन हुँदैन । वडाको अधिवेशन नभइकन क्षेत्रको हुँदैन । क्षेत्रको नभइकन केन्द्रको अधिवेशन पनि हुने कुरा थिएन ।’

उनले क्रियाशील सदस्यताको काम पूरा हुन नसकेका कारण पनि महाधिवेशन प्रभावित भएको बताए । प्रवक्ता डा.महतले भने, ‘सबैलाई थाहा छ । क्रमसंख्या नभएको फारम गएको कारण त्यसले पनि केही समय थपियो । विविध अरुखाले समस्याहरूले पनि त्यो समयसीमाभित्र क्रियाशील सदस्यता टुंगो लाग्न सकेन ।’
‘त्यो अवस्थामा पुसमा प्रस्तावित महधिवेशन त्यही मितिमा गर्न सम्भव नभएको हुनाले अहिले संशोधित कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिले पास गरेको छ,’ उनले भने, ‘त्यो संशोधित कार्यतालिकाअनुसार वैशाखको अन्तिममा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने र वडाको अधिवेशन अगाडि बढाउने निर्णय भएको छ ।’
डा.महतले भने, ‘विशेष अधिवेशन भन्ने प्रश्न उठेको छ । त्यस सन्दर्भमा मंसिर १५ गते केन्द्रीय कार्यसमितिले जुन निर्णय ग¥यो कि पुसभित्र १५औं महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यता सहितको कार्यतालिका प्रस्तुत भइसकेपछि विशेष महाधिवेशनको अर्थ र औचित्य त्यसैदिनदेखि समाप्त भइसकेको थियो । किनकि हामी १५औं नियमित महाधिवेशनमा प्रवेश गरिसकेको थियौं ।’
‘खाली अहिले भएको के हो भने कार्यतालिका अनुसार समयमा सम्भव नभएको हुनाले मात्रै क्रियाशील सदस्यता वितरण गर्ने र केन्द्रमा पठाउने समय पनि केही थप्नु प¥यो ।’
‘त्यो थप गरेपछि छानविन गरेर अन्तिम नामावली टुंगो लगाएर निर्वाचन आयोगलाई हस्तान्तरण गरेर निर्वाचन आयोग जिल्ला जिल्लामा गएर वडा तहदेखि अधिवेशन गर्नको लागि समय नपुग्ने हुनाले त्यो कार्यतालिका पनि संशोधन गर्नु परेको थियो,’ उनले भने, ‘१५औं महाधिवेशनको प्रक्रिया जारी नै छ । समयसीमा मात्रै परिस्थितिले गर्दा लम्बाउनु परेको छ ।’
उनले भने, ‘फागुन २१ गतेको आम निर्वाचनको कारणले पनि अब वैशाखभन्दा वर अथवा फागुनमै गर्न नसकिने अवस्था भएको हुनाले त्यस किसिमले कार्यतालिका पास भएको छ ।’
डा.महतले भने, ‘जनसम्पर्क समितिले क्रियाशील सदस्यता नयाँ र नवीकरण नामावली केन्द्रमा पठाउने अवधि माघ ७ गतेभित्र तोकिएको छ ।’
‘केन्द्रीय महाधिवेशनको सम्बन्धमा गाउँ, नगर, वडा अधिवेशन २०८२ चैत २१ गते । गाउँ, नगर, पालिका अधिवेशन चैत २५ गते । प्रदेश सभा क्षेत्रीय अधिवेशन चैत २८ गते । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन ५ वटा क्षेत्र रहेका जिल्लामा वैशाख २ गते । २ वा २ भन्दा बढी प्रतिनिधि सभा भएको जिल्लामा वैशाख ५ गते प्रदेश अधिवेशन वैशाख १०, ११ र १२ गते । केन्द्रीय महाधिवेशन वैशाख २८, २९, ३० र ३१ गते हुने गरेर निर्णय भएको छ,’ उनले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया