जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा भएको छ ।
दुबै पक्षले हाल कार्यगत एकता गरी संघर्षका कार्यक्रमहरूसँगै सञ्चालन गर्ने र भविष्यमा आवश्यकता अनुसार एकतासमेत गर्न सक्ने सहमति गरेका छन् ।
सोमबार जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा आयोजित कार्यक्रममा दुबै पक्षले कार्यकत एकटा घोषणा गर्दै संयुक्त रूपमा संघर्ष अघि बढाउने सहमति गरेका हुन् ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यगत एकता घोषणापत्रमा दुबै पक्षले पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलबिहीन निर्वाचन प्रणालीको पक्षमा संघर्ष गर्ने सहमति भएको छ ।
घोषणापत्रमा नेपालको संविधान अधुरो, अपुरो तथा त्रुटिपूर्ण र विभेदकारी रहेको ठहर गर्दै त्यसको संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखनका लागि संघर्ष जारी राख्ने उल्लेख छ ।
विविध जात, जाति, भाषा, धर्म, संस्कृति र पहिचान भएका समुदायलाई समेट्ने गरी राज्य–राष्ट्रको अवधारणा स्थापित गराउन पनि संयुक्त प्रयास गर्ने सहमति गरिएको छ ।
मधेश जनविद्रोहबाट स्थापित संघीय शासन प्रणालीलाई थप मजबुत बनाउँदै प्रदेशलाई अधिकारसम्पन्न बनाउने, मधेशी, दलित, महिला, जनजाति, खस, मुस्लिम अल्पसंख्यक तथा पिछडावर्गको अधिकार, पहिचान र सम्मानका लागि निरन्तर संघर्ष गर्ने घोषणापत्रमा उल्लेख छ ।
राज्यका सबै तह र निकायमा जातीय तथा सामुदायिक जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संयुक्त संघर्ष गर्ने प्रतिवद्धता जनाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया