सहकारी ठगी र संगठित अपराधका अभियुक्त लामिछाने र मेयर साहबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’बीच भेट भएको छ ।

सोमबार काठमाडौंमा लामिछाने र साहबीच भेट भएको हो । भेटमा पछिल्लो राजनीतिक अवस्था र मिलेर जाने विषयमा कुराकानी भएको छ । सहकारी ठगी र संगठित अपराधका अभियुक्तसँग मेयर साहले भेट गरेको विषयलाई लिएर आलोचना भइरहेको छ ।

उच्च अदालत, तुलसीपुर, बुटवल इजलासको आदेशपछि मोटो रकम धरौटी बुझाएर बाहिरिएका अभियुक्त लामिछानेले मेयर साहसँग भेट गरेका छन् । उनीहरूका बीच सकारात्मक सम्वाद भएको जनाइएको छ ।

सहकारीको करोडौं रकम हिनामिना र दुरुपयोग गरेको अभियोग लागेका लामिछानेलाई संगठित अपराधको मुद्दा पनि छ । लामिछानेलाई धरौटीमा छाड्न आदेश दिने न्यायाधीशहरूविरुद्ध पनि न्याय परिषदमा उजुरी परेको छ ।

धरौटीमा रिहाइ भएर आउनेवित्तिकै लामिछानेले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खारेलसँग बालुवाटारमा भेट गरेका थिए ।

Published : Tuesday, 2025 December 23, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया