प्रधानमन्त्री शाह र सांसदहरूबीच बुधबार दोहोरो अन्तर्क्रिया हुने, ११ सांसदले प्रश्न टिपाए
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले भोलि भदौ १० गते बुधबार एघार सांसदहरूको लिखित प्रश्नहरूको जवाफ दिने भएका छन् ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री शाहसँग सांसदहरूले प्रतिनिधि सभा बैठकमा प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउनेछन् ।
सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए । सभामुखले उक्त दिन १५ सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था मिलाएका छन् ।
सभामुख अर्यालद्वारा गरिएको व्यवस्थाअनुसार बुधबार प्रधानमन्त्री शाहसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले ७ वटा प्रश्न सोध्न पाउँछन् । नेपाली कांग्रेसले २, नेकपा (एमाले)ले २, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक–एक प्रश्न सोध्न पाउँछन् ।
रास्वपाका ३ जना सांसदले प्रश्न दर्ता गराएको पाइएको छ । सांसद अमरेशकुमार सिंह, समीक्षा बास्कोटा र कृष्णहरि बुढाथोकीले मात्र प्रश्न दर्ता गराएका हुन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न दर्ता गराएका छन् ।
एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले प्रश्न टिपाएका छन् । नेकपाका सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न दर्ता गराएका छन् ।
श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्कराज राई र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न दर्ता गराएका छन् ।
गएको जेठ १७ गते संसद्मा बोल्ने क्रममा प्रधानमन्त्री शाहले ‘भारतले मात्रै होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
शाहको अभिव्यक्तिको विरोधमा विपक्षी दलका सांसदले दिनहुँ उठेर विरोध गर्ने क्रम नरोकेपछि सभामुखले सांसद्का प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन्।
प्रतिनिधि सभाको नियमावलीमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था पनि छ।
तर, प्रधानमन्त्री शाह प्रतिनिधिसभा नियमावली र संसद्प्रति जवाफदेही नभएपछि सभामुखले उनलाई सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया