स्वर परिवर्तन भयो, जेनजीहरूको बुद्धि पलाउन बाँकी छ : मेयर चिरीबाबु महर्जन

पुल्चोक । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेनजीहरूले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले जेनजी पुस्ताका अगुवाहरूका पछिल्ला अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

मेयर महर्जनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावनाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको जुन सरकार छ, यसको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो,’ महर्जनले भने ।

‘अलिकति मलाई चिसो परिरहेको छ कि, जेनजीले आमा भन्नुहुन्छ । पछिल्लो कालखण्डमा आएर स्वर परिवर्तन गरेको छ,’ मेयर महर्जनले भने, ‘चुनाव हुन दिँदैनौँ भनिरहेको छ । यो भन्न पाइँदैन । चुनाव गर्नैपर्छ ।’

ललितपुरका मेयर महर्जनले निर्वाचन हुनैपर्ने र निर्वाचन सफल बनाउने काममा जेनजीहरूले पनि सहयोग गर्नुपर्ने बताएका छन् । जेनजीहरूको बुद्धि पलाउन बाँकी रहेको उनले बताएका छन् ।

Published : Wednesday, 2025 December 17, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया