लेटाङमा १२ वर्षीया बालिकाको हत्याका अभियुक्त सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १२ वर्षीया बालिकालाई हत्या गरेको अभियोगमा ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीले अधिकारीलाई मंसिर १९ गते पक्राउ गरेको आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । अधिकारी मोरङको लेटाङ नगरपालिका वडा नं.२ फडानी निवासी हुन् । ब्यूरोले अधिकारीलाई वडा नं. २ स्थित निवासबाट पक्राउ गरेको थियो ।

अधिकारीले विभिन्न प्रलोभन देखाइ अन्दाजी ४.५ किलोमिटर पर वेलवारी चिसाङ सामुदायिक वन जंगलभित्र बालिकालाई लगेर हसियाँले घाँटी रेटी हत्या गरेको सीआईबीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

१२ वर्षीया बालिका लेटाङ नगरपालिका वडा नं. २ बस्ने नवीन गौतमकी छोरी हुन् । छोरीलाई मिति २०८२÷०६÷२१ गते अन्दाजी १४ः०० बजेको समयमा घरदेखि बाहिर गई हराई फेला नपरेको र खोजतलास भई रहेकोमा मिति २०८२÷०७÷०७ गते अन्दाजी ११ः३० बजेको समयमा लेटाङ नगरपालिका वडा नं. २ स्थित वेलवारी चिसाङ सामुदायिक वन जंगलभित्र झाडीमा नामथर वतन र उमेर नखुलेको मानव शरीरको अंगहरू छुट्टाछुटै स्थानमा सडिगली सकेको अवस्थामा फेला परेको थियो ।

जघन्य प्रकृतिको घटनाको सम्बन्धमा घटनास्थलमा वरामद भएका कपडा, हाफ पाईन्ट, चप्पल र घडीको आधारमा हो भनि परिवारबाट सनाखत भएपछि अनुसन्धानको सिलसिलामा ब्यूरोको कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीबाट घटना सम्बन्धी सुक्ष्म रूपले सूचना संकलन तथा प्राविधिक विश्लेषण गरेको थियो ।

घटनामा संलग्न प्रतिवादी पदमबहादुर अधिकारीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूर मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

Published : Sunday, 2025 December 7, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया