मुलुकलाई निकास दिन समयमा निर्वाचन गरौँ, कांग्रेस प्रतिस्पर्धा गर्न तयार छ : किशोरसिंह राठौर

ठाकुरबाबा । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस, बर्दिया, क्षेत्र नं. २ कार्यसमितिले ठाकुरबाबा नगरपालिकाको साईपुरमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले कांग्रेसले चुनावको तयारी थालेको बताए । उनले शान्ति सुरक्षाको आवश्यक व्यवस्था हुन नसकेको बताए । राठौरले निर्वाचन सुनिश्चित गर्न सरकारले सुरक्षा लगायतका प्रबन्ध तत्काल गर्नुपर्ने बताएका छन् ।

सहमहामन्त्री राठौरले केन्द्रीय समितिको निर्णय अनुरुप पार्टीले महाधिवेशनको तयारी थालेको बताएका छन् । महाधिवेशनले आमनिर्वाचनमा पार्टीलाई कसरी सघाउ पुर्‍याउँछ भन्नेमा सबै कांग्रेसजन गम्भीर र जिम्मेवार हुनुपर्ने उनले बताएका छन् ।

सहमहामन्त्री राठौरले महाधिवेशनले पार्टीलाई एकढिक्का बनाउन पार्टीका सबै तहका नेता कार्यकर्ताको उत्तिकै भूमिका रहने बताएका छन् ।

उनले पार्टीलाई पुनर्ताजगी गराइ संगठनलाई चलायमान बनाउने र निर्वाचनबाट पार्टीलाई थप बलियो बनाउन महाधिवेशन कसरी सहयोगी हुन्छ भन्नेबारे सबै नेता कार्यकर्ताले सोच्नुपर्ने बताएका छन् ।

Published : Friday, 2025 December 5, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया