काभ्रेली गुण्डाहरू सक्रिय, विशिष्ट व्यक्तिहरूलाई हत्या धम्की दिने को हुन् पाठक ?

काठमाडौं । काभ्रेली गुण्डा नाइके दावा लामासहितका समूह नेपाली कांग्रेसमा राजनीतिक संरक्षण लिएर बसेका बेला प्रकाश पाठकले उच्च व्यक्तिहरूलाई हत्याको धम्की दिएर एकाएक चर्चामा आएका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला स्थायी घर भइ हाल काठमाडौं उपत्यमा बस्दै आएका पाठकको धम्कीले सुरक्षा निकायलाई सर्तक बनाएको छ । उग्रवादी समूह ‘एक्ट्रिमिस्ट ग्रुप अफ नेपाल’का संयोजक पाठक बिगतमा विभिन्न अपराधमा संलग्न रहेको खुलेको छ ।

तत्कालीन समयमा श्यामलाल ज्ञवाली जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रहरी प्रमुख (एसएसपी) रहेका बेला पाठकले केही व्यक्तिहरूलाई झुठ्ठा मुद्दा लगाएर फसाउन खोजेका थिए । पाठकको कुरा सुनेर महानगरीय प्रहरी वृत्त, कमलपोखरी र गौशालाका प्रमुखहरूलाई तत्कालीन समयमा एसएसपी ज्ञवालीले फोन गरेर केही व्यक्तिलाई फसाउन खोजेका थिए । तर, पाठकको गलत कुरालाई कमलपोखरी र गौशाला प्रहरीले अनुसन्धानका क्रममा थाहा पाएपछि झपारेर पठाएका थिए ।

पाठक विगतमा टोले गुण्डा, लुटपाट, धम्की, अपहरण लगायतका गतिविधिमा संलग्न रहेका व्यक्ति हुन् । काभ्रेली टोले गुण्डाको रुपमा परिचित पाठकको विगतको फाइलहरूको सूची लामो छ ।

पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित देशका उच्च पदस्थलाई लक्षित गरी हत्या धम्की दिने दिएका छन् । पाठक प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति हुन् ।

अख्तियार र प्रहरी अनुसन्धानका अनुसार पाठक भारतमा बसेर पनि धम्की दिँदै आएको देखिन्छ । यससम्बन्धमा केही निकट सहयोगीहरू पक्राउ परे पनि पाठकको लोकेशन अझै पूर्ण रूपमा सार्वजनिक भएको छैन ।

स्रोतका अनुसार, पाठक र उनका सहयोगीहरूले हतियार खरिद र विभिन्न व्यक्तिसँग चन्दा असुलीको कार्यमा संलग्न रहेको पाइएको छ ।

भाटभटेनीका व्यवसायी मीनबहादुर गुरुङ र अन्य व्यक्तिहरूसँग पनि पाठकको गिरोहले चन्दा मागेको दाबी गरिएको छ ।

प्रहरीले पाठकलाई नियन्त्रणमा लिन व्यापक खोजी प्रयास जारी राखेको छ । सुरक्षा सतर्कता उच्च बनाइएको छ । पाठकका केही सहयोगीलाई भने प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

यसअघि, आयोगका प्रमुख आयुक्त राईसहित १० जना विशिष्ट व्यक्तिलाई ज्यान सुरक्षा सम्बन्धी विशेष सतर्कता अपनाउनुपर्ने भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले मातहत निकायहरूलाई परिपत्र जारी गरेको थियो ।

परिपत्रअनुसार, आयोगका प्रमुख आयुक्त प्रेम राई, पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का, पूर्वगृहमन्त्री रमेश लेखक र बालकृष्ण खाणलाई ज्यान मार्ने धम्की आएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो ।

परिपत्रमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द्र ठकुरी तथा पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणालाई पनि विशेष सुरक्षा व्यवस्था मिलाउन निर्देश गरिएको स्रोतले जनाएको छ ।

काठमाडौं उपत्यकामा हुने अधिकांश अपराधको दुनियाँमा काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र मकवानपुरका टोले गुण्डाहरूको रजगज हुने गरेको छ । अन्य जिल्लाका टोले गुण्डाहरू मत्थर भए पनि काभ्रे र सिन्धुपाल्चोकका टोले गुण्डाहरू पुनः सलबलाउन थालेका छन् ।

Published : Friday, 2025 December 5, 4:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया