बुद्धिरामद्वारा डबल मर्डर, पूर्व प्रहरी हवल्दार सीताकै हत्या, सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)द्वारा पूर्व प्रहरी हवल्दारको हत्या गरी फरार प्रतिवादी ४७ को बुद्धिराम दराईलाई पक्राउ गरेको छ ।

बुद्धिरामले २०८१ चैत ३१ गते अन्दाजी १५ः३० बजेको समयमा लमजुङको बेसीशहर नगरपालिका वडा नं. २ भकुण्डेस्थित सोही स्थानमा बसोबास गर्ने वर्ष ४५ की सीता कँडेलको हत्या गरेर फरार रहेका थिए । सीता नेपाल प्रहरीको भूतपूर्व प्रहरी हवल्दार हुन् ।

सीताको घरमा बाहिरबाट ताल्चा लागेको अवस्थामा घरबाट दुर्गन्ध फैलिएपछि खानतलास गर्दा आफ्नै घरको सुत्ने कोठामा रहेको बक्स पलङको बिस्तारा मुनि त्रिपालले बेरिएको अवस्थमा शव फेला परेको थियो ।

हत्याको अनुसन्धानको लागि ब्यूरोबाट समेत विशेष अनुसन्धान टोली खटिएको थियो । घटनाको प्राविधिक तथा स्थलगत अनुसन्धान गर्दा चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ घर भएका परदेशी दराईको छोरा वर्ष ४७ को बुद्धिराम दराई संलग्न रहेको भेटिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन समयमा मिति २०६७ मंसिर १३ गते गोरखाको फिनाम गाविस वडा नं. ५ बस्ने वर्ष ५३ कि चिनीमाया पाण्डेलाई उनकी छोरी मनुका भन्ने सम्झना पाण्डेसंग बुद्धिराम दराईको विवाह गर्ने भन्ने विषयमा बुद्धिरामबीच विवाद भएको थियो ।

बुद्धिराम दराईले चिनीमाया पाण्डेलाई घाटी थिची हत्या गरेकोमा गोरखा जिल्ला अदालतबाट २०६८ असार २० गते सर्वस्व सहित जन्मकैदको फैसाला भएको र सजाय भुक्तानको क्रममा मृतक सीता कँडेल (प्रहरी हवल्दार)सँग मकवानपुरको भीमफेदी कारागारमा रहँदा परिचय भएको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

बुद्दिराम दराईलाई मिति २०८२ वैशाख १५ गते जिल्ला अदालत लमजुङबाट पक्राउ पुर्जी जारी भई खोजतलास तथा अनुसन्धानको क्रममा ब्यूरोको टोलीले रूपन्देहीको सिद्धार्थनगर नगरपालिक वडा नं. १ बेलहियास्थित सडकखण्डमा २०८२ मंसिर १८ गते पक्राउ गरी थप अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालय, लमजुङ बुझाइएको शुक्रबार ब्यूरोद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2025 December 5, 2:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया