लाखौं रुपियाँको पैसाको बण्डलसहित भारतीय र ओखलढुङ्गाका दुई व्यक्ति पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले १८ लाखभन्दा धेरै रकमसहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।

मंसिर १४ गते प्रहरी टोलीले काठमाडौंको तीनचुलीस्थित घरमा भाडामा बस्दै आएका भारतीय नागरिक ३८ वर्षीय दीपक केजरिवाललाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । भारतको राजस्थानको तारानगर स्थायी घर भइ तीनचुलीमा बस्दै आएका दीपकको कोठामा चेकजाँच गर्दा १८ लाख १६ हजार ५ सय रुपियाँ बरामद भएको एसपी पवनकुमार भट्टराईले बताएका छन् ।

भारतीय नागरिक दीपकसँगै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. १ घर भइ हाल काठमाडौंको आरुबारी बस्दै आएका वर्ष १९ का दावा शेर्पालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद भएको स्रोत नखुलेको रकमका विषयमा प्रहरीले थप अनुसन्धान कार्य भइरहेको मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाएको छ । बरामद भएको सो रकम हुण्डीको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

Published : Tuesday, 2025 December 2, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया