अदालतले कानून हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला गर्ने परिपाटी बस्यो : केपी ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा नेपाली जनतालाई झुक्याउनेहरूको रजगज भएको बताएका छन् ।

मंगलबार पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा ओलीले वातावरण सच्याउनको लागि सबैभन्दा पहिला राजनीतिको मुहान सच्याउनु पर्ने बताए ।

उनले अहिले राजनीति नै फोहोर भएकोले सबैभन्दा पहिला त्यसलाई सच्याउने पर्ने बताएका छन् ।

आगजनी, वितण्डा, राष्ट्रिय क्षतिलाई आन्दोलन भन्दै केही मानिसहरूले देश र लोकतन्त्रलाई क्षति पुग्ने गरी राज गरिरहेको एमाले अध्यक्ष ओलीले बताएका छन् ।

अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनविरुद्ध बोल्न नसक्ने हो भने नेपाली डिक्सनेरीबाट सत्य भन्ने शब्द डिलिट गर्दिए हुने एमाले अध्यक्ष ओलीले बताएका छन् ।

ओलीले अदालतले पनि मान्छे र पार्टी हेरेर फैसला गर्ने परिपाटी बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मधेस प्रदेश सरकारबारे सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले अदालतले आफ्नो र संविधानको मर्यादा राखेर फैसला गर्नुपर्ने बताएका छन् ।

‘कानून हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला गर्ने अदालतको समेत परिपाटी बसेको छ, संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेको छ, एक महिना पुग्न चार दिन बाँकी होला, सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिनू भन्छ, म सुन्दा आश्चर्य चकित भएँ, चार दिनपछि त एक महिना पुग्छ तीन दिन अगाडि तान्नको लागि संविधान विपरीत आदेश दिन्छ,’ ओलीले भने ।

Published : Tuesday, 2025 December 2, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया