घाइते सभापति देउवाप्रति गगन-विश्वले मानवीय समवेदना पनि देखाएनन्, बैठकमा खुलेर आलोचना
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवा उपचारका लागि अस्पतालमा भर्ना भएका बेला महामन्त्रीहरूले विशेष महाधिवेशनको मुद्दा उछालेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका छन् । थापा र शर्माले जिम्मेवारीअनुसार काम नगरेका कारण मंसिरमा हुनुपर्ने १५औँ महाधिवेशन सर्ने अवस्थामा पुगेको बताएका हुन् ।
केन्द्रीय सदस्यहरूले जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका सभापति देउवा उपचारका लागि अस्पतालमा रहेका बेला विशेष महाधिवशेनको कुरा उछालिएको भन्दै आपत्ति जनाए । उनीहरूले महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवा र नेतृ डा.आरजु राणालाई हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण हुँदा समेत मावनीय समवेदना समेत देखाउन नसकेको भनेर आलोचना गरेका छन् ।
केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले भनिन्, ‘महामन्त्रीज्यूहरूले हामी सबै केन्द्रीय सदस्य, पदाधिकारीज्यूहरूलाई भर्चुअल मिटिङ गरेर के गरौँ ? विशेष महाधिवेशन बोलाऊँ या नियमित महाधिवेशन बोलाऊँ भनेर छलफल गर्दिएको भए धेरै राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ । यो अलिकति सान्दर्भिक भएन । यो भन्दा अगाडिको मिटिङमै विशेष महाधिवेशन भनेको भए राम्रै हुन्थ्यो होला । तर, सभापतिज्यू आक्रमणमा परेर घाइते भएर बेडमा छटपटिएको बेलामा उहाँले केही गर्नु भएन भने जस्तो गरी बाहिर मिडियामा हामीले सुन्न पाउँदा हामीलाई दुःख लागेको छ ।’

चार वर्षे कार्यकालमा जिम्मेवार पदमा बसेर कसले के काम गरियो सबैले म–म भन्ने अवस्था सिर्जना भएको भट्टराईले भनेकी छिन् । उनले भनिन्, ‘हामीले यो अवधिमा जिम्मेवार पदमा बसेका केन्द्रीय सदस्यहरू, पदाधिकारीहरूले के–के ग¥यौं ? हामी सबैले म–म गर्नुपर्ने अवस्था सिर्जना भएकै छ । यो किसिमको एउटा सभापतिलाई मात्रै दोष लाउनु हुँदैन भन्ने मलाई लाग्छ ।’
नेतृ भट्टराईले एकअर्कामा हिलो छ्यापेर, एकताको सन्देश नदिएर चुनावमा गए जित्न नसकिने पनि बताइन् । आगामी महाधिवेशनबाट जो सुकै सभापति भए पनि पार्टीमा एकता हुनै पर्ने उनले बताएकी छिन् ।
यसैबीच कांग्रेसको अर्को बैठक २०८२ कार्तिक २६ गते बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ ।
बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. मीनेन्द्र रिजाल, दीपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली, भीम पराजुली र गोमाकुमारी भट्टराईले आ–आफ्नो धारणा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया