महामन्त्री थापा र सह-महामन्त्री यादवद्वारा पेश गरिएको भनिएको प्रस्तावहरू व्यक्तिगत धारणा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापा र सह–महामन्त्री महेन्द्र यादवबाट पेश भएको भनिएको महाधिवेशनसम्बन्धी प्रस्ताव व्यक्तिगत रहेको खुलेको छ ।

बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा.महतले केही पदाधिकारीहरूबाट राखिएको बिचारलाई प्रस्तावको बुझाइ रहेको बताए ।

महामन्त्री थापा र सह–महामन्त्री यादवद्वारा कार्यसमितिमा पेश गरेको भनिएको प्रस्तावका बारेमा सोधिएको प्रश्नको जवाफमा डा.महतले भने, ‘आ–आफ्नो बिचार राख्नुभयो । त्यसलाई प्रस्तावको रुपमा भन्दा पनि बिचारको रुपमा लिएका छौँ । धेरै अरुअरु बिचार पनि त्यहाँ आइरहेको छ । पदाधिकारीको रुपमा उहाँहरूले बोलेको हुनाले त्यो प्रस्ताव जस्तो भन्ने किसिमबाट गएको छ । त्यो दुइटै चाहिँ व्यक्तिगत रुपमा उहाँहरूले राखेको बिचार हो । त्यस्तो बिचार फ्लोरबाट पनि धेरै साथीहरूले विभिन्न खाले बिचारहरू ल्याउनु भएको छ । निष्कर्ष हाम्रो मिटिङको अन्तिमसम्ममा निस्किन्छ ।’

मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले पुस १६ देखि १८ गतेसम्मका लागि १५औँ महाधिवेशन गरौँ भनेर धारणा राखेका थिए । सह–महामन्त्री यादवले फागुन २१ गतेको मध्यावधि निर्वाचनपछि वैशाख २७ देखि २९ गतेसम्म महाधिवेशन गर्न सुझाव दिएका थिए । थापा र यादवको धारणालाई प्रस्तावको रुपमा आएको भनेर सामाचारहरू प्रकाशित भएका थिए । थापा र यादवको प्रस्ताव भनिएको धारणा र विषयहरू प्रस्तावका रुपमा नभइ व्यक्तिगत रुपमा आएका बिचार रहेको प्रवक्ता डा.महतले प्रष्ट पारेका छन् ।

प्रवक्ता डा.महतले केन्द्रीय कार्यसमितिको बैठकले अन्तिममा उपयुक्त निर्णय गर्ने बताए । उनले भने, ‘छलफल जारी छ । अझ ३ दिन जस्तो लाग्छ । मिटिङको अन्त्यमा निष्कर्ष निकाल्ने हो । अहिले बोल्ने क्रम जारी छ ।’

‘समसामयिक विषयमा, भदौ २३ र २४ गतेको विषयको घटनाले जुन प्रभाव पारेको छ त्यसबाट आएका चुनौतीहरूका विषयमा साथीहरूले आफ्ना कुराहरू राख्नुभएको छ,’ डा.महतले भने ।

‘संसद पुनर्स्थापनाका विषयदेखि लिएर राष्ट्रिय निर्वाचनको विषयदेखि लिएर पार्टी अधिवेशन सम्बन्धमा कहिले कसरी गर्दाखेरी उपयुक्त हुन्छ भन्ने विषयमा साथीहरूले आफ्नो मत राख्ने क्रम जारी छ,’ प्रवक्ता डा.महतले भने ।

उनले भने, ‘हाम्रो कार्यकाल नै समाप्त हुने नजिर छ । नियमित अधिवेशनबाट नै नयाँ क्रियाशील सदस्यहरूको पनि सहभागिताबाट १५औँ महाधिवेशन गर्दाखेरी त्यसको सहभागिताको दायरा फराकिलो हुन्छ ।’

‘युवापुस्ताको सहभागिता पनि सुनिश्चित हुन्छ । त्यस कारण महाधिवेशन नै सम्पन्न गर्नुपर्छ । नियमित महाधिवेशन । खाली कुन समयमा गर्न । राष्ट्रिय निर्वाचनलाई पनि मध्यनजर राखेर त्यसको कार्यतालिका कहिले गर्दा ठीक हुन्छ भन्नेबारेमा अलिकति फरक फरक मत आएको छ । सबैको जोड १५औँ राष्ट्रिय महाधिवेशन नै गर्नेमा जोड छ,’ प्रवक्ता डा.महतले भने ।

Published : Wednesday, 2025 November 5, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया