कांग्रेस चुनावबाट भाग्नु हुँदैन, निर्णय गर्दा सर्वसम्मत गर्न संस्थापन पक्षका नेताहरूको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले महधिवेशन र निर्वाचनका विषयमा सर्वसम्मत रुपमा निर्णय गरेर जानुपर्ने सुझाव दिएका छन् ।

सोमबार काठमाडौंको नयाँ बानेश्वरमा भएको संस्थापन पक्षका नेताहरूको भेलाका सहभागीहरूले कांग्रेस प्रजातन्त्रमा विश्वास गर्ने पार्टी भएका कारण पहिलो प्राथमिकतामा निर्वाचनलाई राख्नुपर्ने बताएका हुन् । नेताहरूका अनुसार संसद विघटन गैरसंवैधानिक हुँदाहुँदै कांग्रेस चुनावबाट भाग्न नहुने बताएका छन् ।

विशेष महाधिवेशन र नियमित महाधिवेशनका विषयमा पार्टी नेतृत्वले सरसल्लाह गरेर सर्वसम्मत निर्णय गरेर जान संस्थापन पक्षका नेताहरूले दवावपूर्ण सुझाव दिएका छन् । उनीहरूले कांग्रेसलाई विभाजन गर्ने शक्तिहरूको पहिचान गर्न आवश्यक रहेको धारणा समेत राखेका छन् ।

भेलामा ५९ जना पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो । ४५ जनाले धारणा राखेका थिए । भेलाको संयोजन केन्द्रीय सदस्य कल्याण गुरुङले गरेका हुन् ।

नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने भन्दै अन्तरिम सरकारले चुनावको वातावारण बनाउनु पर्ने सुझाव दिएका छन् । निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन हुने अवस्था नदेखिएको भन्दै कांग्रेस नेताहरूले सरकारसँग शान्ति सुरक्षाको भरपर्दो व्यवस्था बनाउन आग्रह गरेका छन् ।

सरकारले चुनावका लागि सुरक्षाको वातावारण बनाएर सबै राजनीतिक दलहरूलाई चुनावमा भाग लिन आह्वान गर्नुपर्ने सुझाव नेताहरूले दिएका छन् ।

भेलामा सहभागी एक नेताले भने, ‘नेपाली कांग्रेसको प्राथमिकता चुनावमा जाने भएपछि चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमाथि चौतर्फी आक्रमण भइरहेका बेला पार्टी एकढिक्का नहुने हो भने चुनावमा राम्रो परिणाम दिन सकिँदैन ।’

‘सर्वसम्मत रुपमा जेनजी पुस्तादेखि लिएर सबैको सम्मानजनक सहभागिता हुने गरी पार्टीको महाधिवेशन सम्पन्न गर्नलाई प्रयास गर्ने सुझाव आएको छ,’ एक नेताले भने ।

भेलामा सहमहामन्त्री महेन्द्र यादव, प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, केन्द्रीय सदस्यहरू देवेन्द्रराज कँडेल, अर्जुन जोशी, पुष्पा भुसाल, शंकर भण्डारी, उदयशम्शेर जबरा, कल्याण गुरुङ, लक्ष्मी खतिवडा, सुजाता परियार, गुरु बराल, उमेशजंग रायमाझी, राजिव गुरुङ, सरस्वती बजिमय, राधा घले, किरण पौडेल, कान्तिका सेजवाल, गणेश लामा, सुदूरपश्चिम प्रदेशका सभापति बीरबहादुर बलायर लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2025 November 3, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया