कार्यबाहक सभापति खड्का र दुई महामन्त्रीबीच छलफल, सभापति देउवाले दिएको जिम्मेवारी मिलेर पूरा गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले मुलुक कठिन, संकटपूर्ण र जोखिममा रहेका बेला सहमति, सहकार्यका साथ एकजुट भएर अगाडि बढ्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंको गल्फुटारस्थित आफ्नै निवासमा कार्यबाहक सभापति खड्काले दुई महामन्त्री थापा र शर्मासँगको छलफलमा आफू नियमित महाधिवेशनको पक्षमा रहेको बताएका छन् । उनले जे निर्णय गरेपनि सहमतिका साथ गर्नुपर्ने बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले सहमति र सहकार्यमा अगाडि बढ्न कार्यबाहक सभापतिको जिम्मेवारी दिएको स्मरण गराउँदै खड्काले महामन्त्रीद्वय थापा र शर्मालाई कांग्रेसको १५औँ महाधिवेशन र फागुन २१ गतेको मध्यावधि निर्वाचन सफलताका साथ सम्पन्न गर्ने दायित्व रहेको स्मरण गराएको स्रोतले जनाएको छ ।

कार्यबाहक सभापति खड्काले फागुन २१ गते मध्यावधि चुनाव आउन लागेको हुनाले त्यो चुनावलाई पनि सफलताका साथ सम्पन्न गर्न पार्टीका सबै साथीहरूलाई एकजुट बनाएर अगाडि बढ्न चाहेको सन्देश दिएका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसलाई राष्ट्रिय राजनीतिमा ठोस निर्णय नै गर्न नदिएर नेतृत्व परिवर्तन भनेर विशेष महाधिवेशनका लागि दवाव सिर्जना गर्न (कीर्ते हस्ताक्षर) कथित ५४ प्रतिशत हस्ताक्षर बनाएर बुझाएका छन् । मंसिरमा नियमित महाधिवेशन शुरु हुनु पर्ने थियो । नियमित महाधिवेशनलाई प्रभावित तुल्याउने गरेर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको माग गरिरहेका छन् । विशेष महाधिवेशन गर्ने हो भने प्रक्रिया शुरु गर्न समेत कम्तिमा ३ महिना लाग्छ । महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सनाखत गर्न न्यूनतम पनि २ महिना लाग्छ । हस्ताक्षर गर्ने सबै महाधिवेशन प्रतिनिधिहरूलाई देशभरिबाट काठमाडौं बोलाएर सनाखत गर्ने हो भने महामन्त्रीद्वय थापा र शर्माको कीर्ते हस्ताक्षर काण्डको भण्डाफोर हुनेछ ।

विशेष महाधिवेशनका नाममा कीर्ते हस्ताक्षर गरेर बुझाएको ५४ प्रतिशतको दाबीलाई ढाकछोप गर्न महामन्त्रीद्वय थापा र शर्माले विभिन्न बखेडाहरू झिक्दै आएका छन् ।

Published : Friday, 2025 October 31, 2:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया