बालेनद्वारा अर्याललाई हटाएर राजु वा मीरालाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीलाई दवाव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह ‘बालेन्द्र’ले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीमाथि दवाव सिर्जना गरेका छन् ।

प्रधानमन्त्री कार्कीलाई निरन्तर भेट गरिरहेका मेयर साहले अर्याललाई गृहमन्त्रीबाट हटाउन दवाव सिर्जना गरेका हुन् । मेयर साहको सचिवालयमा कार्यरत सहयोगीहरूले समेत सामाजिक सञ्जालमा गृहमन्त्री अर्यालविरुद्ध ट्रेण्डिङ चलाइरहेका छन् ।

अर्याललाई हटाएर काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे वा पूर्व एआईजी मीरा चौधरीलाई गृहमन्त्री बनाउन मेयर साहले चाहेका छन् । गृहमन्त्री अर्याललाई मेयर साहले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न दवाव दिँदै आएका छन् । गृहमन्त्री अर्यालले पक्राउ नगरेपछि मेयर साह रिसाएका छन् । मेडिकल व्यवसायी प्रसाईंले आलोचना गरेपछि मेयर साहको लोकप्रियतामा ह्रास आइरहेको छ ।

अभियन्ता ईः ईः ले पनि मेयर साहले गृहमन्त्री अर्याललाई हटाएर नगर प्रहरी प्रमुख पाण्डेललाई गृहमन्त्री बनाउन चाहेको बताएका छन् ।

ईःईः ले लेखेका छन्, ‘भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनुथियो । शुरुमा तयार भएपनि परिस्थिति सोँचेको भन्दा विकराल भएपछि उनले खुट्टा कमाए । दोस्रो प्राथमिकतामा रवि थिए तर, विकशित परिस्थितिले उनको ओज कम गरिदियो, गराइयो ।’

‘त्यसपछि २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास चल्यो । तर, संविधानका आधारभूत विषयमा उनको फरक मत सर्वस्वीकार्य भएन भन्ने बुझिएको छ,’ ईः ईः ले भने, ‘यी प्रयास प्रारम्भविन्दुमा यस्तो सानो बृतमा सीमित थियो कि निर्मल निवास, अधिकांश दलका पदाधिकारी, र कैयन् शक्तिकेन्द्र यसबारे बेखबर थिए ।’

ईः ईः ले भने, ‘पूर्ण रिक्तता र थप अनिष्ट परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य, सर्वविश्वाशिलो बन्नुभयो । यसमा बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण टाढिएका, सक्दो विधिसम्मत ढङ्गले चल्नुपर्छ भनेर प्रायः अडिग, ओमप्रकाश अर्यालको ठूलो भूमिका थियो । त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो । उनको सट्टा प्राथमिकतामा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसंभव प्रयास गरेकै हुन् । अहिलेपनि गर्दैछन् ।’

‘गृहमन्त्री कमीकमजोरी रहित व्यक्ति होइनन् तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकशित हुनसक्छ । यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिप्रतिष्पर्धा चल्दैछ,’ ईः ईः ले भने, ‘अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ । के नवयुवाको रगत यसैको लागि बगेको हो ? कस्तो बिडम्बना ! कस्तो निर्लज्जता !’

‘बेलैमा सबै पक्षले आ–आफ्नो भूमिकाबारे थप दूर्घटना टार्न सचेत हुन जरूरी देखिन्छ । स्टन्टका लागि मात्र नभई विधिसम्मत र परिपक्व हिसाबले भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनुनैपर्छ । आम मानिसको हकमा मात्र नभई जवाफदेहिता र न्याय ओहदा नहेरी स्थापित हुनुपर्छ । समयमा चुनाव हुनैपर्छ । सबैको आआफ्नो स्वार्थपूर्ण निकाश परिदृश्य होला तर, समाजको लागि उपयुक्त यही हो । रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा हुँदैन। अनि यतिको सत्य बोल्न पनि ज्यानै खतरामा भएको महसूस गर्नुपर्ने हो भने, होस् खतरा होस्,’ ईः ईः ले भने ।

मेयर साहनिकट युवाले अर्याललाई हटाउन दबाब दिने उद्देश्यले ट्रेण्डिङ चलाउन थालेका हुन् । आफ्ना कानूनी सल्लाहकार रहेका अर्याललाई साहले नै गृहमन्त्री बनाएको बताइएको थियो । आफूले भनेबमोजिम केपी ओलीलगायतलाई पक्राउ नगरेपछि चिढिएका साहले यसबीचमा प्रधानमन्त्रीलाई भेटेरै गृहमन्त्री हटाउन दबाब दिएको बताइएको छ ।

एमआरआर ग्रुपमा बालेनका नजिकका सहयोगीहरूको टीमले गृहमन्त्री हटाउने वा राजीनामा गराउने अभियान चलाउने सल्लाह गरेका छन् । ‘कायर गृहमन्त्री तुरुन्त राजीनामा गर, तिम्लाई गृहमन्त्री बनाउन ७५ जनाले बलिदान दिएको होइन’ भन्दै बालेनको सचिवालयमै रहेकाहरूले ट्रेण्डिङ चलाउन सर्कुलेट गरेको पाइएको छ । मेयर साहले ओली, लेखक र प्रसाईंलाई पक्राउ गर्न दवाव दिए पनि गृहमन्त्री अर्याललाई कानूनबमोजिम चल्नुपर्ने बाध्यता छ ।

Published : Tuesday, 2025 October 28, 3:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया