कांग्रेस बैठकमा महाधिवेशनको कार्यतालिका नै पेश भएन, महामन्त्रीद्वय गगन–विश्व फेसबुकमा बबाल गर्दै

काठमाडौं । राष्ट्रिय राजनीतिलाई भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रित बनाएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिको बैठकमा पेश नै नगरेको खुलासा भएको छ ।

विशेष महाविधेशनका लागि हस्ताक्षर अभियान गराएका महामन्त्री थापाले मंसिरमा नियमित महाधिवेशन गराउन रुचि देखाएका छैनन् । थापाले केन्द्रीय कार्यसमितिको चालु बैठकमा समेत १५औँ महाधिवेशनको कार्यतालिका पेश गरेका छैनन् । उनले पार्टीमा सहमति गराएर कार्यतालिका पेश गर्नुपर्ने थियो । तर, कार्यतालिका पेश नगरेर महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका राखेका छन् ।

नेविसंघका नेता मनीषजंग थापाले फेसबुकमा लेखेका छन्, ‘पार्टीको केन्द्रीय समितिको बैठकमा टेबुल नै नभएको महाधिवेशन तालिका भनेर मिडियाबाजी गर्नु कतिको जायज छ ? महाधिवेशन मिडियाबाट हुने हो कि केन्द्रीय समितिको बैठकबाट निर्णय गरेर हुने हो ? याद रहोस् पार्टी विधि विधान र आधिकारिक निर्णयबाट चल्छ मिडियाबाट चल्दैन ।’

महामन्त्री थापाले कांग्रेसलाई राष्ट्रिय राजनीतिको मूल विषयमा प्रवेश गर्न दिइरहेका छैनन् । थापाको उद्देश्य के हो ? प्रश्न उठ्न थालेको छ । १५औँ महाधिवेशन नियमित रुपमा हुनुपर्छ । नियमित महाधिवेशन गर्न आफै संयोजक रहेको क्रियाशील सदस्यता विवाद समाधान समितिले अहिलेसम्म सिन्को पनि भाँच्न सकेको छैन । आफूले पाएको जिम्मेवारी पूरा नगर्ने, मिडियाबाजी गरेर थापाले कांग्रेसलाई कमजोर बनाउने गरी गतिविधि गर्ने कार्यहरू गरिरहेको आरोप छ ।

महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसको नेतृत्व हत्याउन विशेष महाधिवेशनको फण्डा गरिरहेका छन् । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरू अधिकांश नक्कली र कीर्ते छन् । ती हस्ताक्षरको आधिकारिकता जाँच (सनाखत) गर्नुपर्नेछ । हस्ताक्षर जाँच भयो भने गगन र विश्वको समर्थनमा जम्मा १० प्रतिशत हस्ताक्षर हुनेछन् ।

हस्ताक्षर सनाखतको कुरा उठेपछि महामन्त्रीद्वय थापा र शर्माको सातोपुत्लो उडिसकेको छ । थापा र शर्मा हस्ताक्षरको सनाखत गर्ने पक्षमा छैनन् ।

Published : Sunday, 2025 October 19, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया