कार्यबाहक सभापति खड्काद्वारा आफू निकटका नेताहरूसँग परामर्श, गगन-विश्वको विशेष महाधिवेशनको औचित्य समाप्त
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरूसँग महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशनका विषयमा छलफल गरेका छन् ।
बुधबार ललितपुरमा कार्यबाहक सभापति खड्कालाई नेताहरूले विशेष महाधिवेशनको औचित्य सकिएको सुझाव दिएका छन् । कार्यवाहक सभापतिको जिम्मेवारी पाएको अर्को दिन खड्का आफू निकटका नेताहरूको बैठक राखेर परामर्श गरेका हुन् । खड्काले कांग्रेस पार्टीलाई नियमित महाधिवेशनतर्फ लैजानुपर्ने बताएका छन् ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसको नियमित १५औँ महाधिवेशन निर्धारित मितिमा सम्पन्न गर्न निर्देशन दिएका छन् । त्यसअनुसार कार्यवाहक सभापति र पदाधिकारीहरूले बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका माग्ने तयारी गरेका छन् । नेताहरूले कार्यतालिकासँगै महाधिवेशनको मिति र पूर्वतयारीका आधारहरू पनि स्पष्ट गर्नुपर्ने धारणा राखेका छन् ।
बैठकको सुरुवातमा कार्यवाहक सभापति खड्काले पछिल्लो राजनीतिक तथा संगठनात्मक परिस्थितिबारे जानकारी दिँदै आगामी कदमका विषयमा नेताहरूको सुझाव मागेका थिए ।
बैठकमा सहभागी नेताहरूले सभापति देउवामाथि हालै भएको हमलाको निष्पक्ष छानबिन गर्नुपर्ने, पार्टीभित्र बेमेल र अविश्वासको वातावरण अन्त्य गर्नुपर्ने र जेनजी आन्दोलनसम्म पुग्ने अवस्था किन आयो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यबाहक सभापति खड्काले बोलाएको बैठकमा नेताहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा.शशांक कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री उमाकान्त चौधरी लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया