जेनजी प्रदर्शनमा एसएलआर लुटेर सिंहदरबार अगाडि प्रदर्शन गर्ने सम्राट पक्राउ, विभिन्न अपराधमा संलग्न

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा सुरक्षाकर्मीले प्रयोग गर्ने एसएलआर हतियार लट्ने कार्यमा संलग्न सम्राट भन्ने राजु परियारलाई पक्राउ गरेको छ ।

भदौ २४ गते भएको प्रदर्शनको क्रममा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रही सुरक्षाकर्मीले प्रयाग गर्ने सेल्फ लोडिङ राईफल (एसएलआर) बोकेर सिंहदरबार मूल गेट अगाडि लगायतका विभिन्न स्थानहरूमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको पाइएपछि परियारलाई पक्राउ गरिएको एसपी पवनकुमार भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर महानगरपालिका-१३ कुसुन्ती घर भएका ३६ वर्षीय परियारले २४ भदौमा भएको जेनजी आन्दोलनमा राइफल लिँदै उच्छृखंल गतिविधि गरेको भिडिओ, तस्वीर भाइरल बनेको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) दानबहादुर कार्कीले जेनजी प्रदर्शनका क्रममा आपराधिक कार्यमा संलग्नहरूलाई पक्राउ गरेर कारबाही गर्न विशेष अप्रेशन नै चलाएका छन् । विशेष अप्रेशन चलाएका कारण धमाधम अपराधमा संलग्नहरू पक्राउ परिरहेका छन् ।

बिहीबार पक्राउ परेका परियारलाई प्रहरी मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ बमोजिम आपराधिक उपद्रोव गर्न नहुने समेतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको एसपी भट्टराईले बताएका छन् ।

पक्राउ परेका परियार यसअघि विभिन्न मितिमा बैंकिङ कसूर तथा ठगी जस्ता आपराधिक गतिविधिमा संलग्न रहेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीका अनुसार उनको आपराधिक पृष्ठभूमि पनि राम्रो छैन । उनीविरुद्ध पहिलोपटक २०७५ पुसमा बानेश्वर वृत्तमा ठगी मुद्दा दर्ता भएको थियो । त्यसपछि उनी कहिले हत्या प्रयास त कहिले ठगी अनि कहिले बैंकिङ कसूरविरुद्धका काम गरिरहे । उनको आपराधिक पृष्ठभूमि हेर्दा, दुईवटा ज्यान मार्ने उद्योग, तीनवटा ठगी, एक बैंकिङ कसूर र दुईवटा अभद्र व्यवहारसम्बन्धी मुद्दा उनीविरुद्ध दर्ता भएका छन् ।

प्रहरीका अनुसार गंगामाया देउलाले जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध हत्या प्रयास गरेको दाबीसहित जाहेरी दिएकी थिइन् । ललितपुरका रोमन महर्जनले पनि ललितपुरमा उनीविरुद्ध हत्या प्रयासमा जाहेरी दिएका थिए ।

उनीविरुद्ध रवि तामाङले प्रहरी वृत्त नयाँबानेश्वरमा लीलाधर गिरीसहित २ जनाले ललितपुर परिसरमा र प्रहरी वृत्त स्वम्भुमा समेत उजुरी दिएका थिए । ऋतबहादुर गिरीले स्वयम्भू वृत्तमा ठगीसम्बन्धी जाहेरी दिएका थिए । राजकुमार खड्गीले प्रहरी वृत्त महाराजगञ्जमा बैंकिङ कसूरको जाहेरी दिएका थिए । सुनिल महर्जन र रोशन भण्डारीले समेत फरक(फरक मितिमा ललितपुर परिसरमा जाहेरी दिएका थिए ।

Published : Wednesday, 2025 October 15, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया